तरुण खबर
१२ चैत्र २०७७, बिहीबार १७:०६
काठमाडौं । कम्युनिष्ट मुलुक उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले सी अफ जापानमा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जापान र अमेरिकाका अधिकारीहरुले सञ्चार माध्यमलाई बताएका छन् । अमेरिकाको सत्तामा जो बाइडेन आएपछि उत्तर कोरियाले पहिलोपटक यस्तो परीक्षण गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रावधान अनुसार उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्न पाउँदैन । उत्तर कोरोरियामा किम जोन उन राष्ट्रपति छन् । उनी किम इल सुङका नाती हुन् ।
मिसाइलका कुनै पनि भग्नावशेष वा अंश उत्तर कोरियाको स्वामित्वको जल क्षेत्रमा नखसेको जापानले बताएको छ । केही दिन पहिले मात्रै उत्तर कोरियाले यल्लो सी मा दुईवटा नन–ब्यालेस्टिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो । क्रुज मिसाइलको परीक्षण प्रतिबन्धित छैन । तर ब्यालेस्टिक मिसाइललाई खतरनाक हतियार मानिन्छ । जापनका प्रधानमन्त्री योहिहिदे सुगाले बिहीबार उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले क्षेत्रीय सुरक्षा र शान्तिमा खतरा पैदा गरेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गरेकामा उत्तर कोरियाले हालै अमेरिकाको आलोचना गरेको थियो । यस्तै बाइडेन प्रशासनले उत्तर कोरियासँग वार्ताका लागि प्रयास गरिरहेका बेला उत्तर कोरियाले मिसाइल प्रक्षपण गरेको हो ।


