तरुण खबर
१९ चैत्र २०७७, बिहीबार ०९:४७
चीन र भारतमा कृतिम वर्षा गराउने प्रविधि
काठमाडौं । नेपालका छिमेकी मुलुक चीन र भारतजस्ता देशहरूले प्रदूषण नियन्त्रणदेखि खडेरी हटाउन कृतिम वर्षा गर्ने गरेका छन् । यस उपायअन्तर्गत तोप प्रयोग गरेर वा हवाईजहाजमार्फत् सिल्भर आयोडाइड नामक यौगिकलाई बादलमा छर्केर वर्षा गराउने प्रयास गरिन्छ । क्लाउड सीडिङ भनिने यो विधिमा एउटा ठूलो बादलमा स–साना वाष्पकणलाई एकीकृत गर्दै ठूलो बनाएर वर्षा गराइन्छ ।
नेपालको आकाशमाथि अहिले त्यस्तो पानी पर्न सक्ने खालको बादल देखिँदैन । यो विधि प्रयोग गर्दा एक ठाउँमा पर्नुपर्ने पानी अर्को ठाउँमा पर्ने र आवश्यक पर्ने ठाउँमा नभई अन्यत्र पर्ने खालका समस्या पनि देखिन सक्ने बताइन्छ । खास क्लाउड सीडिङ राम्ररी गर्ने भनेको भएकै बादलले प्राकृतिक रूपले पानी पार्नुअगाडि कृत्रिम ढङ्गले पानी पार्नु हो । विधिका हिसाबले त्यतिधेरै जटिल नभए पनि कुन बादलमा गएर सिल्भर आयोडाइड झार्ने र त्यो कति नियन्त्रित ढङ्गले पानी पार्न सकिन्छ भन्ने चाहीँ चुनौती हुने विज्ञहरूले ठानेका छन् । बादलमा पानी हुनु तर नपर्ने अवस्थाका लागि चाहिँ यो विधि उपयुक्त हो । नेपालमा अहिले देखिएको अवस्थाका लागि चाहिँ उक्त विधिको प्रभावकारिता खासै देखिँदैन ।
एक सातादेखि काठमाण्डौंसहित देशका धेरै ठाउँमा तुँवालो र उच्च तहमा वायु प्रदूषण देखिँदा जनस्वास्थ्यमा धेरै समस्या देखा परेको विज्ञहरूले बताएका छन् । प्रदूषणका कारण दीर्घरोगीमा झन् जटिल समस्या हुन थालेको, गर्भवतीमा बच्चा जन्मँदा समस्या देखिन सक्ने र स्वस्थ मानिसमा समेत कालान्तरमा फोक्सो, मुटु, छालादेखि स्नायुप्रणालीसम्म प्रभावित हुन सक्नेगरी लक्षणहरू देखिन थालेको चिकित्सकहरू बताएका छन् ।
अस्पताल नआउनेमा समेत धेरैमा आँखा पिरो हुने, घाँटी खसखस हुने, छाला चिलाउने, नाक चिलाउने, रुघा लागे जस्तो हुने लक्षण देखिएका गुनासो आउन थालेका छन् । श्वासप्रश्वास सम्बन्धी विज्ञहरूले वायु प्रदूषणको असर नजानिँदो ढङ्गले मानिसहरूको स्वास्थ्यमा अहिलेभन्दा अघिदेखि नै पर्दै आएको बताउँछन् । वायुमा हुने सूक्ष्म कण रक्तनलीसम्म पुग्ने भएकाले त्यसले मुटुसम्बन्धी समस्याहरू निम्तिन सक्छ । फोक्सो हावा हाम्रो शरिरमा छिर्ने पहिलो माध्यम भएकाले त्यसमा तत्काल उच्च असर देखिने मात्र हो । नत्र त्यसले सबैतिर असर पु¥याइरहेको हुन्छ । त्यस्ता समस्यामा मस्तिष्काघातको जोखिम बढ्ने, मूत्राशयदेखि पाचन प्रणालीसम्म असर पु¥याउने, दीर्घकालमा विभिन्न किसिमका क्यान्सरको जोखिम उच्च हुने बताइन्छ ।
यतिखेर प्रदूषणको तह उच्च भएकाले एकदुई दिनमै मानिसहरूले समस्या महसुस गर्न थालेका हुन् । नत्र प्रदूषणले पु¥याउने असर त हाम्रो समग्र आयु नै कम गर्नमा देखिएको अध्ययनहरूले नै देखाएका छन् । बीबीसी न्यूजका अनुसार लामो समय विषाक्त वायु भएको स्थानमा बस्दा गर्भवती महिलाले जन्माउने शिशुमा विभिन्न प्रभाव पर्न सक्ने चिकित्सकहरू बताएका छन् । काठमाण्डौंकै एक सरकारी अस्पतालमा कार्यरत श्वासप्रश्वास रोग विशेषज्ञ डा. अशेष ढुङ्गानाले शिशुको जन्मतौल नै कम हुनेदेखि जन्मजात मुटुसम्बन्धी समस्या र बिस्तारै अन्य रोगहरू देखिने गरेको छ ।
विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने आकलन गर्दै सरकारले शुक्रवारसम्म देशभरि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । वातावरण अधिकारी एवं मौसमविद्हरूले तत्काल वर्षा वा ठूलो वेगको हावाको सम्भावना नदेखिएकाले अहिलेको तुँवालो थप केही दिन रहिरहन सक्ने बताएका छन् । काठमाण्डौंको एउटा निजी अस्पतालमा श्वासप्रश्वास एवं क्रिटिकल केयर विशेषज्ञका रूपमा कार्यरत एकजना चिकित्सक डा. रक्षा पाण्डेले तत्कालै देखिनेगरी दमका बिरामीमा प्रदूषणका कारण समस्या देखिएको बताइन् । दम नियन्त्रणमा रहेका बिरामीमा ज्वरोबिनै छोटो अन्तरालमा घ्यारघ्यार हुने र खोकी लाग्ने जटिलता थपिएको छ, उनले जानकारी दिएकी छन् ।


