तरुण खबर
२० चैत्र २०७७, शुक्रबार १२:२५
चैत २० गते शुक्रबार बिहानसम्ममा संक्रमणबाट ३ लाख २५ हजार ५५९ को मृत्यु
काठमाडौं । कोरोना भाइरसको पहिलो लहर चलिरहेको वेलामा ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोना भइरसको संक्रमणलाई हल्का रूपमा लिए । २१ करोड ३६ लाख ९१ हजार ७२८ जनसंख्या रहेको ब्राजिलमा पहिलो चरणको कार्यक्रम नै विफल भएकै वेला कोरोनाको दोस्रो लहर चल्यो । चैत २० गते शुक्रबार बिहान ७.३० बजेसम्ममा ब्राजिलमा १ करोड २८ लाख ४२ हजार ७१७ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । कुल संक्रमितमध्ये ३ लाख २५ हजार ५५९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टा (अप्रिल १) मा ८९ हजार ४५९ संक्रमित थपिएका छन् । यो दुई चरणमा चुक्दा पनि ब्राजिलमा दिनप्रतिदिन संक्रमित र मृतक संख्या बढिरहेको थियो । पछिल्लो २४ घण्टामा ३ हजार ६७३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।स्वास्थ्य संस्था फिओक्रुजले ब्राजिलको सबै स्वास्थ्य संयन्त्र असफल भएको जनाएको थियो । यहाँका सबै अस्पतालमा ८० प्रतिशत कोभिड–१९ ले भरिएको फिओक्रुजले जनाएको छ । रियो ग्रान्डे अस्पतालका डाक्टर पेड्रोले ब्राजिलकै कारण विश्वमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् ।
कोभिड–१९ को महामारीका वेला पनि राष्ट्रपति बोल्सोनारो लकडाउनको विपक्षमै उभिएका थिए । उनले लकडाउनले देशको अर्थतन्त्र धराशायी हुने अभिव्यक्ति दिँदै यसप्रति खासै चासो नदेखाएको आरोप लागेको थियो । ब्राजिलमा कोरोनाको नयाँ प्रजाति फेला परेको वेला पनि राष्ट्रपतिले जनतालाई ‘रुने काम रोक्नुपर्ने’ जनाएका थिए । यसबाट जनता पनि उनीसँग खुसी छैनन् । राष्ट्रपतिकै खराब रणनीतिकै कारण ब्राजिलमा अहिले केवल आठ प्रतिशतले मात्र भ्याक्सिन लगाएका छन् ।


