जेठ–असारमा कोरोना भारसको संक्रमण उच्च अंकले बढ्न सक्ने

जेठ–असारमा कोरोना भारसको संक्रमण उच्च अंकले बढ्न  सक्ने तरुण खबर २५ चैत्र २०७७, बुधबार ११:१४
जेठ–असारमा कोरोना भारसको संक्रमण उच्च अंकले बढ्न  सक्ने

मंगलबार ४५ सयको नमुना परीक्षण गर्दा २६० संक्रमित
काठमाडौं । सरकारले आगामी जेठ–असार महिनामा कोरोनाभाइरसको सङ्क्रमण उच्चबिन्दुमा पुग्न सक्ने बताएको छ । नेपालको जनसंख्या २ करोड ९५ लाख ३३ हजार ४३९ जनाभन्दा बढी छ । नेपालमा बुधबार बिहान ७.०० बजेसम्ममा कोरोना भाइरसका संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४७० पुगेको छ । संक्रमितमध्ये ३ हजार ३६ जनाको निधन भएको छ भने २ लाख ७३ हजार ४५५ जनालाई संक्रमण निको भैसकेको छ । १९ सय ७९ जना व्यक्ति कोरोनाभाइरसको संक्रमणको उपचारमा छन् ।तर नेपालमा २४ घण्टा (मंगलबार) को अवधिमा ४ हजार ५ सय वटाजति पीसीआर परीक्षण गर्दा २६० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्ने संकेतपछि विज्ञहरूले मुख्यगरी जनस्वास्थ्यका मापदण्ड पालना गराउन अन्तर्राष्ट्रिय नाकाहरूमा अझै कडाइ गरिनुपर्ने बताएका छन् । सरुवा रोगको क्षेत्रमा लामो समय काम गरेका एक पूर्वअधिकारीले सरकारको गृहकार्य फितलो रहेको भन्दै अघिल्लो वर्षको अनुभवबाट पाठ सिकेको जस्तो नदेखिएको प्रतिक्रिया दिएका छन् । नेपाल र भारतबीचका सीमामा नै कोभिड–१९ सङ्क्रमण नभएको प्रमाणपत्र देखाउनुपर्ने बाध्यकारी प्रबन्ध गरिनुपर्ने र मास्कको प्रयोगजस्ता सावधानी नअपनाउने व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्ने उनले बताएका छन् ।

संक्रमण दोस्रो लहर पहिलोभन्दा बढी जोखिमपूर्ण
काठमाण्डौं विश्वविद्यालयकी सहप्राध्यापक तथा एपिडिमिओलोजिस्ट अर्चना श्रेष्ठले सङ्क्रमणको नयाँ लहर आउन सक्नेबारे यस पटक पहिलेभन्दा बढी मानसिक तयारी रहेको बताइन् । उनी भन्छिन्, “हरेक व्यक्ति व्यक्तिबाट जनस्वास्थ्यका मापदण्ड लागु भयो र पाएसम्म खोप लगाइयो भने त्यसले संक्रमण नियन्त्रण गर्न सहयोग गर्छ । पहिला हामीले पहिलो लहर आउँदाआउँदै संक्रमणको तयारी गरेका थियौँ भने अहिले पूर्वाधार, तालिम, उपचार लगायतमा पूर्वतयारी छ ।

उनले नेपालमा अहिले सार्वजनिक भइरहेको तथ्यांकले संक्रमणको पूर्ण चित्रण गरेको भन्दै परीक्षणको दायरा विस्तार गरिनुपर्ने र एन्टिजन परीक्षणमा सङ्क्रमण भएको देखिएका व्यक्तिहरूलाई पनि सङ्क्रमितको सूचीमा राखिनुपर्ने बताइन् । डा. श्रेष्ठको भनाइमा नेपालमा जेठ महिनामा सङ्क्रमणको दोस्रो लहर देखा पर्न सक्छ । पहिलो लहरभन्दा दोस्रो लहर अझ जोखिमपूर्ण हुने भन्दै सङ्क्रमणको अनुसन्धान र पहिचानमा थप पूर्वतयारी गरिनुपर्नेमा उनले जोड दिइन् ।
भारतको वृद्धिदरलाई ध्यान दिँदै थप सतर्कता
भारतमा मंगलबार एक लाख १५ हजार २६९ भन्दा बढी र गत सोमबार १ लाख ३ हजार ७९३ भन्दा बढीमा कोभिड पुष्टि भएको छ । संसद्मा बोल्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले संक्रमणको दर उच्चबिन्दुमा पुग्न सक्ने भएकाले जनस्वास्थ्यका मापदण्डमा कडाइमा सचेतता अपनाइएको बताएका थिए । अबका दिनमा जनस्वास्थ्यका मापदण्डहरूको पालनालाई प्रभावकारी बनाउन सकिएन भने सङ्क्रमण बढ्दै जेठ असारसम्ममा अर्को उच्चबिन्दुमा पुग्न सक्ने देखिन्छ । छिमेकी देश भारतमा फाल्गुन १७ गते सङ्क्रमितको सङ्ख्या ११ हजार ५६३ बाट एक्कासि बढेर चैत्र २४ गते १ लाख १५ हजार २६९ सय पुगेको स्थितिले हामीलाई थप सचेत र सतर्क बनाएको मन्त्री त्रिपाठीले जानकारी दिए ।
कोरोनाभाइरसको नियन्त्रण  आइसोलेसन, अनिवार्य क्वारन्टीन
कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि आवागमलाई थप नियन्त्रित गर्दै रोगको शीघ्र पहिचान र आइसोलेशन, शङ्कास्पद व्यक्तिलाई अनिवार्य क्वारन्टीन र जनस्वास्थ्यको मापदण्डलाई पूर्ण पालना गर्न सके मात्रै महामारीलाई नियन्त्रण गर्नका साथै समयका हिसाबले पर धकेल्न सकिने भएकाले यसतर्फ सबैको ध्यानाकर्षण जरुरी छ । भारतमा कोरोनाभाइरसको नयाँ लहर देखा परेपछि गएको चैत ९ गते गृह मन्त्रालयले दुई देशको सीमा हुँदै नेपाल आउने व्यक्तिहरूको अभिलेख राख्न र स्वास्थ्य परीक्षण गराएर मात्रै प्रवेश दिन देशभरिका प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गरेको थियो ।