बैशाख २४ गते इञ्जिनियरहरुको चुनाव
काठमाडौं । नेपाल इञ्जिनियर्स एशोसियसनको आगामी बैशाख २४ गते हुने निर्वाचनको लागि प्रमुख सत्तारूढ दल नेकपा (एमाले) र विपक्षी दल जनता समाजवादी पार्टी, नेपालका जनसंगठनबीचको चुनावी गठबन्धन भएको छ । इञ्जिनियर भगवान झाको नेतृत्वमा प्रदेश–२ मा संयुक्त उम्मेदवारी दर्ता भएको छ । जसपा समर्थित राष्ट्रिय इन्जिनियर संघ र एमाले समर्थित प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनबीच नेपाल इञ्जिनियर्स एशोसियसनको चुनावमा संयुक्त प्यानल बनाउने सहमति अनुरूप भगवान झाको नेतृत्वमा संयुक्त उम्मेदवारी परेको हो ।
उम्मेदवारी दर्ता गराउनुअघि प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन र राष्ट्रिय इन्जिनियर संघबीच चुनावी गठबन्धन भएको थियो । दुई संगठनले चुनावमा संयुक्त प्यानल बनाउने सहमति गरेका थिए । प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनका अध्यक्ष इ. शम्भुबहादुर श्रेष्ठ र राष्ट्रिय इन्जिनियर संघका अध्यक्ष ई. भगवान झाले संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्र तथा प्रदेशहरुमा संयुक्त रुपमा चुनावी तयारी गर्ने जानकारी दिएका थिए् । नेपाल इन्जिनियर्स एशोसियसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति तथा दोस्रो प्रदेश कार्यकारिणी समितिको चुनाव वैशाख २४ मा हुँदैछ ।