काठमाडौं । विश्वले स्वास्थ्य दिवस मनाउँदै गरेको एप्रिल ७ का दिन स्वास्थ्य क्षेत्रका जानकारहरूले गएको एक वर्षमा नेपालले महामारीका कारण बेहोरेको चुनौती, सिकेका पाठ तथा देखिएका कमजोरीहरू औँल्याएका छन् । उनीहरुका अनुसार चाहे प्राकृतिक होस् वा मानवसिर्जित हरकिसिमको संकटसँग जुझ्ने प्रमुख हतियार भनेको पूर्वतयारी हो । कोरोनाको महामारीको हकमा अन्य देशहरू सहित नेपालको पूर्वतयारीको परीक्षण भएको उनीहरुको दावी छ । प्रकोपको पूर्वतयारीको हकमा हामी जहिले पनि कमजोर रह्यौँ । जति काम भएका छन् ती स्वाभाविक थिए, हुनैपर्ने किसिमका थिए । गत वर्ष अरू देशमा महामारी सल्किँदापनि नेपालले तयारीका निम्ति केही समय र अरूको अनुभव हेर्ने मौका पाएको थियो ।
तर त्यसको फाइदा उठाउन नसकिएको विज्ञहरू बताएका छन् । सीमाक्षेत्रमा स्वास्थ्य चेकजाँच अनि क्वारन्टीनका विषयमा पूर्वतयारीका प्रशस्त मौका खेर गएको उनीहरूको भनाइ छ । अहिलेपनि जब हामी महामारीको दोस्रो लहरको खतराको कुरा गर्छौँ, हामीले सीमाक्षेत्रमा व्यवस्थित किसिमका होल्डिङ, सेन्टर चेकजाँच प्रणाली अनि क्वारन्टीन प्रणाली भएको पाउँदैनौं स्वास्थ्यमन्त्रालयमा प्रमुख विज्ञ तथा निमित्त सचिव भएर काम गरिसकेका जनस्वास्थ्य जानकार डा सुशील प्याकुरेलले बताएका छन् ।
सिक्न नसक्ने नेपाली प्रवृत्ति
मानिस र उसबाट सिर्जित संस्था तथा प्रणालीले पनि या त अरूको भोगाइबाट जान्ने या त आफ्नै गल्तीबाट सिक्ने मौका पाउँछन् । तर हाम्रो स्वास्थ्य प्रणालीको अवस्था हेर्दा भोगाइबाट सिक्ने प्रवृत्ति देखिँदैन अर्थात् कमजोरीहरू दोहोरीरहन्छन् । आवश्यक सामग्री खरिद, जनशक्तिको व्यवस्थापन, परीक्षण तथा सम्पर्क पहिचान अनि उपचार प्रबन्धजस्ता विषयमा नेपालले बितेको एक वर्षमा प्रशस्त अनुभव हासिल गरिसकेको छ । ती अनुभवको सदुपयोग गर्न सकेमात्रै पनि आगामी दोस्रो वा तेस्रो लहरको जोखिमलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने विज्ञहरूको सुझाव छ ।
संघीयता बमोजिमको ढाँचा र समन्वय भने नदेखिएको विज्ञहरूले औँल्याएका छन् । केन्द्रमा स्वास्थ्यमन्त्रालयको अगुवाइ रह्यो भने सम्पर्क पहिचानदेखि नाकामा चेकजाँच, क्वारन्टीनका अनेक व्यवस्थापन प्रदेश तथा खासगरि स्थानीय तहको काँधमा आइपयो । अचानक ठूलो विपत्ति पर्दा कसले के भूमिका खेल्ने र कसरी स्रोत परिचालन गर्ने भन्ने बारे सुरुको समयमा निकै अन्योल देखा परेको थियो । अहिले स्वास्थ्य क्षेत्रमा ३३ हजार सरकारी कर्मचारी छन्, अनि ५६ हजारभन्दा धेरै महिला स्वास्थ्य स्वयंसेविकाहरू छन् ।
यी सबैलाई तीनै तहमा समन्वयात्मक ढङ्गले परिचालन गर्न सक्ने अनुभवी नेतृत्वपनि चाहिन्छ । साथै समन्वय भनेको केवल सरकारी तहमा मात्र नभइ निजी क्षेत्रसँग पनि हुनुपर्ने डा. शरद वन्तले औँल्याएका छन् । महामारीको बेला निजी अस्पताल तथा स्वास्थ्यसंस्थाको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भएकाले उनीहरूसँग बेलैदेखि उपचार प्रबन्धबारे समन्वय गर्नुपर्ने उनले बताए । तर संक्रमणबाट जोगिन स्थानीय तहले सर्वसाधारणलाई मास्क वितरण गरेको थियो ।
कमजोर संरचना र स्रोतको अभाव
महामारीभन्दा पहिलेकै अवस्थादेखि नेपालका स्वास्थ्य संरचना तथा स्रोतको अवस्थामा प्रश्न उठ्दै आएको थियो । महामारीले ती संरचना कति कमजोर रहेछन् भन्ने देखाएको विज्ञहरू बताउँछन् । अन्य देशले जति धेरै संक्रमण नबेहोर्दा पनि स्वास्थ्य संरचनाले निकै चुनौती बेहोरेका थिए । न्यूनतम सुविधा सहितका शैया भएका अस्पतालहरूको अभाव खट्कियो भने सघन उपचार धेरैलाई आवश्यक परे के गर्ने भन्ने त्रासपनि उत्पन्न भएको थियो । हालै सरकारले तीन सयभन्दा धेरै स्थानीय तहमा एकैपटक अस्पताल निर्माणको घोषणा गरेकोलाई विज्ञहरूले स्वागत गरेका छन् । तर भौतिक संरचनाका अतिरिक्त जनशक्ति तथा स्रोतको वितरण हुन नसके त्यसले फाइदा नदिने भन्दै उनीहरूले सचेत गराएका छन् ।
जनशक्तिमा पनि दक्ष चिकित्सकका अतिरिक्त दक्ष नर्स तथा अन्य दक्ष प्यारामेडिकको महत्व थप गर्न सुझाएका छन् ।यद्यपी, गत एक वर्षको अनुभव नियाल्दा नेपालको स्वास्थ्य प्रणालीमा कतिपय आशलाग्दो पक्षपनि देखिएको विज्ञहरूले बताएका छन् । हाम्रो प्रणाली कतिपयको तुलनामा बेसी उत्तरदायी देखियो । ज्येष्ठ नागरिकले बेलैमा खोप पाए अनि धेरैको ज्यान जोगियो । जनस्वास्थ्य प्रणाली सोचेजत्ति खराब रहेनछ भन्ने देखायो । अस्पताल तथा प्रयोगशालाहरूमा भएका विस्तार तथा विकास, जनचेतनामा आएको अभिवृद्धिजस्ता विषय सकारात्मक पाटो भएको विज्ञहरुले औँल्याएका छन् । यी सकारात्मक पक्षहरूमा टेकेर पूर्वतयारी अनि समन्वयमा ध्यान दिन सके आगामी दिनमा आउनसक्ने कोभिड महामारीको थप लहर वा अरू महामारीबाट पनि निकै हदसम्म जोगिन सकिने जानकारहरूले बताएका छन् ।