तरुण खबर
२८ चैत्र २०७७, शनिबार ११:३८
काठमाडौं । महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा हिजो शुक्रबार निधन भएको बकिङ्घम राजदरबारले घोषणा गरेको छ । राजकुमार फिलिपले राजकुमारी एलिजाबेथसँग सन् १९४७ मा बिहे गरेका थिए । त्यो समय एलिजाबेथले राजगद्दी सम्हाल्नु पाँच वर्ष अगाडि थियो । बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ– गहिरो दुखका साथ महारानीले उनका प्रिय श्रीमान् ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी छन् ।
महामहिमको शान्तिपूर्वक शुक्रबार बिहान विन्डसर क्यासलमा निधन भएको हो । गत महिना ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज भएका थिए । राजकुमार फिलिप र महारानी एलिजाबेथका चार सन्तान, आठ नातिनातिनी छन् र १० जना पनातिपनातिनी छन् । उनीहरूका छोरा प्रिन्स अफ वेल्स राजकुमार चार्ल्स सन् १९४८ मा जन्मेका थिए ।
त्यसपछि राजकुमारी एन् सन् १९५० जन्मेकी थिइन्, ड्यूक अफ योर्क राजकुमार एन्ड्रयू सन् १९६० मा जन्मेका थिए । अर्ल अफ वेसेक्स प्रिन्स एडवार्ड सन् १९६४ मा जन्मेका थिए । प्रिन्स फिलिप ग्रीसको कोर्फु द्वीपमा १० जुन सन् १९२१ मा जन्मिएका थिए । उनी हेलेन्सका राजा जोर्ज प्रथमका कान्छा छोरा थिए । उनकी आमा, राजकुमारी एलिस, लर्ड लुइ अफ ब्याटनबर्गकी छोरी र रानी भिक्टोरियाका पनातिनी थिइन् ।


