कोरोना संक्रमितमा फरक फरक लक्षण

कोरोना संक्रमितमा फरक फरक लक्षण तरुण खबर ३० चैत्र २०७७, सोमबार १०:५२
कोरोना संक्रमितमा फरक फरक लक्षण

काठमाडौं । नेपालमा पछिल्ला केही दिनमा अस्पताल भर्ना भएका कोरोनाभाइरस संक्रमितमा यसअघिका भन्दा फरक लक्षणहरू देखिएको चिकित्सकहरूले बताएका छन् । उनीहरूले त्यो नयाँ भेरिअन्टको कोरोनाभाइरस व्यापक रूपमा फैलिएको सङ्केत हुनसक्ने भन्दै सचेत हुनुपर्ने बताएका छन् । थकान भएका, टाउको दुखेका मानिसहरू र ज्वरो फर्किएकाजस्ता कुनै विशेष लक्षण नभएका मानिसहरूमा अस्पताल गएपछि परीक्षण गर्दा निमोनिया देखिन थालेको चिकित्सकहरूले बताएका छन् ।

तर यही नै बेला परीक्षण कम भइरहेको छ,जसले हाम्रो अवस्थाको वास्तविक चित्र हामीलाई देखाइएको छैन विषय विज्ञ डाक्टरहरुले बताएका छन् ।नेपालको कुल जनसंख्या २ करोड ९५ लाख ४० हजार ६०७ भएको देशमा २ लाख ८० हजार २८ जना कोरोना भाइरसका संक्रमित छन् । संक्रमितमध्ये करिब २ लाख ७४ हजार २७ जनालाई निको भैसकेकको छ । कोरोना भाइरसको उपचार हुने काठमाण्डौंको सरकारी अस्पताल शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल टेकुमा एकाएक गम्भीर बिरामीको चाप बढेको बताइन्छ ।

त्यहाँ १३ जना सघन उपचार कक्ष आईसीयूमै रहेको अस्पतालका प्रवक्ता तथा संक्रामक रोग विज्ञ डा. अनुप बास्तोलाले बताएका छन् । यसपटक आधाजसो बिरामीहरू कोभिड–१९को निमोनियासहित आएका ५० वर्ष मुनिका व्यक्तिहरू रहेको डा. बास्तोला बताएका छन् । उनी भन्छन्– यसले दिने सङ्केत कि यूके भेरिअन्टले अर्कै तरिकाले काम गरिरहेको छ । युवाहरूले धेरै हेलचेत्र्mयाइँ गर्दा यस्तो भएको हुनसक्छ ।

नेपालमा हालसम्म कोरोनाभाइरस संक्रमितमध्ये मृत्यु हुनेको संख्या तीन हजार ४० जना छन् । एक वर्षमा ६ प्रतिशत बालबालिका संक्रमित भएकोमा पछिल्लो एक हप्तामा दैनिक १५ प्रतिशतसम्म संक्रमण दर पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । शनिबार अर्थात् २८ चैतमा तीन सय ३७ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा ५२ जना १८ वर्षमुनिका छन् । यो कुल संक्रमणको १५ दशमलव चार प्रतिशत हो ।

शुक्रवार काठमाण्डौंको एक निजी अस्पतालमा कार्यरत सङ्क्रामक रोग विज्ञ डा. अनुप सुवेदीले शृङ्खालाबद्ध ट्वीट गर्दै ’यस पटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो रहेको’ जनाएको बीबीसीले उल्लेख गरेको छ । यसबीच भारतमा कोरोनाभाइरसको दोस्रो लहर देखा परेको छ ।

त्यहाँ कोरोना भाइरसका नयाँ प्रकार मात्र देखिएका छैनन्, तिनमा दोहोरो उत्परिवर्तन समेत भएको पाइएको छ । जसलाई लिएर नेपालको भारतसँगको सीमावर्ती भेगमा कडाइ र निगरानी गर्नुपर्ने नेपाली विज्ञहरूको भनाइ छ । नेपाल सरकारले नयाँ प्रकारका भाइरसको प्रभावबारे जाँच्न जिन स्वीक्वेन्सिङ गर्ने विधि भित्र्याइसकेको बताए पनि त्यो निकै महङ्गो विधि भएकाले निश्चित समूह वा ठाउँमा अवस्था थाहा पाउन मात्रै प्रयोग गरिने बताएका छन् ।