तरुण खबर
१ बैशाख २०७८, बुधबार ११:५२
चन्द्रमणी गौतम
चियाङ् चिङ् (१९१४–१९९१) लाई चिनियाँहरू ‘म्याडम माओ’ को उपनामले चिन्नेगर्थे, जो चीनको विवादास्पद ‘सांस्कृतिक क्रान्ति’ (१९६६–७६) ताका चिनियाँ ‘जनवादी राज्यसत्ता’ की सर्वाधिक निर्णायक र शक्तिशाली महिला थिइन् । उनी १९३८ देखि अध्यक्ष माओ त्से–तुङ्की चौथी पत्नी भइन् । उनका आठवटा नाम थिए । १९३८ सम्म शाङ्हाए ओपेराकी नर्तकी चियाङ्को स्टेज–नाम भने लान् पिङ् थियो ।१९३७ मा जापानी आक्रमणमा चीनका धेरै ओपेरा हाउस (नाट्शाला) हरू ध्वस्त वा बन्द भएपछि उनी नाट्यकर्म छोडेर क्रान्तिका लागि माओको सम्पर्कमा पुगिन् ।
‘बुर्जुवा संस्कार’ र सुविधाभोगी जीवनबाट आएकी एउटी सुकुमारी चिनिया क्रान्तिको धुम–धाडाका, धुँवा, धुलो, गोला–बारुद, मृत्यु, घाउचोट र पीडाहरूको कठोर जीवनमा हाम्फालिन् । ४० को दशकमा माओको निजी सचिव र ५० को दशकमा कम्युनिस्ट पार्टीको प्रचार विभागको सिनेमा शाखा हेर्ने भूमिकामा काम गरिन् । क्रमशः उनी माओकी दूत पनि भइन् । आजीवन कम्युनिस्ट पार्टी सदस्य रहेकी साथै माओको चर्चित लङ् मार्चमा समेत सामेल, माओबाट ५ छोराछोरीकी आमा सार्प सुटर तेस्री माओपत्नी हे जि झेन (१९१०–१९८४) लाई बिनाकारण पारपाचुके गरेर ४५ वर्षीय माओले आफूभन्दा झन्डै २० वर्ष कान्छी यिनलाई १९३८ मा चौथी पत्नीका रुपमा भित्र्यााए ।
यिनीबाट एउटी छोरी ली ना मात्र भइन् । शर्तअनुसार सार्वजनिक रुपमा चियाङ् चिङ् माओसँग देखानपर्ने कुरा पालन गरियो ।
हे जि झेनसँग बिहे (१९२०) गर्दा दोस्री पत्नी याङ् काईहुई (१९०१–१९३०), जसलाई क्वो मिङ्ताङ्का सेनाले झुन्ड्याएर मारे, सँग पारपाचुके नै भएको थिएन । यिनीबाट पनि माओका छोराछोरी जन्मेको देखिन्छ । पहिली पत्नी त बाबुआमाले गाउँमा १४ वर्षको उमेरमा २० वर्षकी युवतीसँग गरिदिएका थिए । उनलाई त माओले हेर्दा पनि हेरेनन् ।
सांस्कृतिक क्रान्तिको समयमा ‘चारजनाको डफ्फा’ (ग्याङ् अफ फोर) अर्थात ‘चण्डाल चौकडी’ सर्बाधिक शक्तिशाली थिए– उनका अतिरिक्त लेखक तथा सिद्धान्तकार चाङ् चुन छ्यावो (१९१७–२००५), चिनिया साहित्यका समालोचक यावो वेन युआन (१९३१–२००५), सबभन्दा कान्छा तथा श्रमिक नेता वाङ् होङ् वेन (१९३५–१९९५) हुन् ।उनीहरूले माओको आडमा चियाङ् चिङ्लाई महारानी बनाएर १० वर्षको दौरानमा गर्ने–नगर्ने सबै काम भ्याएका थिए ।
युवाहरूको प्रतिरोधी दस्ता गठन र कमाण्ड गरी कम्युनिस्ट पार्टीका (राष्ट्रपति) ल्यु शाओ चि, देङ् सियाओ फिङ्, धेरै दिग्गज नेताहरूलाई प्रतिशोधको भावनाले राजनीतिक जीवन नै तहसनहस गर्ने किसिमले कारवाही चलाइन् । चाउ एन लाईका एक भाइलाई पक्राउ गर्ने आदेशमा सही हान्न बाध्य बनाइन् । चाउका एक–एक धर्मपुत्र र धर्मपुत्रीलाई त रेडगार्डले मारी नै दिए ।माओको निधन (१९७६) पछि उत्तराधिकारी भएर सत्तामा आएका ह्वा गुओफेङ्को पालामा एक साँझ चारैजनालाई गिरफ्तार गरियो ।
आरोप थियो, बेइजिङ् र शाङ्हाएमा सैन्य दस्ता बनाएर शक्ति हत्याउने हर्कत गरेको । यो खबरले सारा चीनमा उल्लासको लहर फैलियो । हुवा उत्तराधिकारीको रुपमा आएपछि माओले उनलाई समस्यासँग जुध्ने हो भने चियाङ् चिङ्सँग भेटेर सर–सल्लाह गर्नु भनी लगाएको पनि रहेछ ।१९८० मा ग्याङ् अफ फोर बिरुद्धको सुनवाई शुरू भयो । देङ् सियाओ फिङ्को आदेश अनुसार उनीहरूलाई चलाइएको कानुनी कारवाहीलाई टीभीद्वारा प्रत्यक्ष प्रशारण गरियो ।
चीनमा अब नयाँ युग शुरू भयो भन्ने प्रमाणित सन्देश दिन उनी चाहन्थे । शुरूमा चियाङ् चिङलाई ‘विशेष अदालत’ ले मृत्युदण्डको फैसला गरेको थियो ।चियाङ् चिङ्लाई लागेको दोषमा उनको आदेशबाट ७ लाख २७ हजार ४२० जनामाथि यातनाजन्य कारवाही गरेको, ३४ हजार २४७ जनालाई मारेको, राष्ट्रपति ल्यु शाओ चि की बिधवालाई १२ वर्षसम्म जेलमा हालेको आदि थिए । चियाङ चिङ्ले आफ्ना ‘अपराध’ वापत अनुहारमा कुनै पश्चातापबोध देखाइनन् । १९८३ मा मृत्युदण्डलाई आजीवन काराबास सँजायमा बदलियो । कैदी जीवनका बेला उनले धेरै पटक माओको पार्थिव शरीर दर्शन गर्ने इच्छाका लागि अनुनयविनय गरिन्, तर अनुमति मिलेन ।
तियान मेन चौकको विद्यार्थी आन्दोलन (१९८९) देङ्को विरुद्ध लक्षित भएको हुनाले आफू उपर ध्यान देलान् भन्ने आशा रहेछ, तर कसैले उनको वास्ता गरेन ।उनलाई घाँटीको क्यान्सर भएको थियो । तर ७७ वर्षको उमेरमा सांस्कृतिक क्रान्तिको पच्चिसौं वर्षगाँठ आउनुभन्दा दुई दिनअघि १९९१ मई १४ का दिन अस्पतालको बाथरुममा आफ्नो सलको पासो लगाएर उनले आत्महत्या गरिन् । बेइजिङ्स्थित सर्वसाधारण व्यक्ति सरहको चिहानमा दफनाईयो । चिहानमा उनको न्वारानको नाम ‘लि युन्हे’ लेखिएको छ ।
( वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक गौतमको यो लेख उहाँको फेसबुकबाट लिइएको हो)


