माछापुच्छ्रे बैंकको क्युआर कोड मन्दिरमा

माछापुच्छ्रे बैंकको क्युआर कोड मन्दिरमा तरुण खबर ५ बैशाख २०७८, आईतवार १५:०५
माछापुच्छ्रे बैंकको क्युआर कोड मन्दिरमा

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालगञ्जको बागेश्वरी मन्दिरमा क्युआर कोड सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बागेश्वरी मन्दिरमा क्युआर कोडमार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरे । उक्त कार्यक्रममा गर्भनर अधिकारीले बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताए । उनले यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने धारणा राखे ।

क्युआर कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाईका लागि हरेक वर्ष देशबाट बाहिरिने ठूलो धनराशि कटौती हुने हुँदा सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने गभर्नर अधिकारीको भनाइ थियो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा। धवलशमशेर राणाले बागेश्वरी मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्युआर कोड सेवा सुरु गरेकोमा बैंकलाई धन्यवाद दिए । बैंकका अध्यक्ष डा।वीरेन्द्रप्रसाद महतोले बागेश्वरी मन्दिरमा सुरु गरिएको क्युआर कोड सेवाले डिजिटल कारोबारलाई हरेक तह र तप्कासम्म पु-याउने बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्युआर कोड बारे जानकारी दिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले आफुले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु आर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।
बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतका विभिन्न व्यसायीहरुलाई क्यु आर कोड प्रदान गरिरहेको जनाएको छ ।