तरुण खबर
६ बैशाख २०७८, सोमबार ११:२०
माधव समूहले एमाले अध्यक्ष ओलीलाई अलमल्याउन सक्ने
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह माओवादी केन्द्रमा विलिन हुने देवेन्द्र पौडेलले दावी गरेका छन् । उनी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन् । माधवकुमार नेपाल समूहमा ३८ जना सांसद रहेको भनिए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा सति जना तयार हुनेको संख्या २० जनामा सीमित हुन सक्ने अनुमान गरिएको छ । माधव समूह राजनीतिमा हावी हुने भयो भने यो संख्या बढ्न पनि सक्छ । हिजो आइतबार सदरमुकाम कुश्मामा आयोजित पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता देवेन्द्र पौडेलले एमालेको नेपाल पक्षसँग निकट भविष्यमै पार्टी एकता गर्ने गरी वार्ता अघि बढेको बताएका थिए ।
नेता पौडेलले नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन पूर्ण रुपमा तयार रहेको दाबी गर्दै तर जसपा संस्थागत ढंगले एक भएर उभिन नसकेका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको बताएका थिए । यसैबीच सरकारविरुद्ध विपक्षीहरूको मोर्चाबन्दी सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको एजेन्डामार्फत कांग्रेससँग सहकार्यको रणनीति अगाडि बढाएको दावी पनि गरिएको छ । यसैका लागि सरकारले लामो समयदेखि संसद्मा अड्किएको अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता चालू अधिवेशनमै टुंग्याउने कसरत अगाडि बढाइएको छ । नेपाली काँग्रेस एमसीसी अनुमोदनको पक्षमा छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्ष निर्वाचित बोहोराले वक्तव्य जारी गर्दै आजको बैठक रोक्न आग्रह गरेका हुन् । उत्तेजना, आवेश र अभिमान हावी भएर कुनै पनि निर्णय गर्न नहुने अनुशासन आयोगका अध्यक्ष बोहराले उल्लेख गरेका छन् । जसपाका बहुमत सदस्य नयाँ सरकार बनाउने पक्षमा रहे पनि केही नेता प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको निकटताका कारण उक्त पार्टीमा समस्या परेको पौडेलको जिकिर थियो ।


