तरुण खबर
६ बैशाख २०७८, सोमबार ११:३०
नेपालमा हिजो आइतबार १ हजार १५ जना संक्रमित थपिए
काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको दिशामा प्रभावकारी कदम नचालिए भारतमा जस्तै अवस्था नेपालमा आउन सक्नेतर्फ विज्ञहरुले सरकारलाई सचेत गराएका छन् । बढी संक्रमण देखिएको ठाउँमा परीक्षण बढाउने कुरा त छँदैछ, नदेखिएका ठाउँमा पनि एक्टिभ सर्भेलिएन्सको नीति लिएर कन्ट्याक्ट ट्रेसिङ्ग र परीक्षण गर्न सकिए थप संक्रमण फैलिनबाट रोक्न सकिने विज्ञहरुले बताएका छन् । निश्चित ठाउँहरूमा लकडाउन गरेर पनि नियन्त्रण गर्न सकिन्छ उनीहरुले भनेका छन् ।
कुल संक्रमितमध्ये ३ हजार ८३ जनाको मृत्यु भैसकेका छ । हिजो बैशाख ५ गते आइतबार ५ हजार ८४ जनाको पीसीआर परीक्षण गरिएको थियो भने ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १ हजार १५ जना र ८१ जनामा एन्टिजेन परीक्षणबाट कोरोनाको संक्रमण १ हजार ९६ जनामा पुष्टि भएको छ । त्यस्तै, बैशाख ५ गते आइतबारै ८ जनाको संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोनाभाइरस संक्रमण भई अस्पताल भर्ना हुने बिरामीको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।
नेपालमा पनि यूके भेरिअन्ट र डबल म्यूटन्ट भेरिअन्ट पुष्टि भइसकेको छ । गत चैत ३० गतेयताकै तथ्याङ्क हेर्दा अस्पताल पुगेकामध्ये आईसीयूमा भर्ना हुनुपर्ने र भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितको संख्या उकालो लाग्दो छ । ६ हजार २९० जना कोरोनाभाइरसका सक्रिय संक्रमितमध्ये स्वास्थ्य मन्त्रालयका अनुसार गत चैत ३० गते ९२ जना भेन्टिलेटरमा थिए भने बैशाख ५ गते अइतबार १६० जना संक्रमित भ्यान्टिलेटरमा पुगेका छन् ।
नेपालको जनसंख्या २ करोड ९५ लाख ५० हजार ६४३ जनामध्ये २ लाख ८४ हजार ६७३ जना संक्रमित छन् । संक्रमितमध्ये २ लाख ७५ हजार ३ सयलाई निको भैसकेको छ । पछिल्लो समय संक्रमित हुनेहरूको संख्या धेरै ठूलो नभए पनि आईसीयू वा भेन्टिलेटर राख्नुपर्नेको संख्या हेर्दा छिटो फैलिने र कडा खालको भाइरस रहेको बताइन्छ । त्यसका साथै अहिले सबै उमेर समूहलाई भाइरसले संक्रमित बनाइरहेको देखिएको छ । पछिल्लो वायु प्रदूषणका कारण संक्रमितहरूमा श्वासप्रश्वास लगायतका समस्था थपिएर अवस्था गम्भीर बन्न सक्ने विज्ञहरुले बताएका छन् ।


