तरुण खबर
६ बैशाख २०७८, सोमबार ११:३७
काठमाडौं । ताम्रकार समाजद्वारा आयोजित कार्यक्रममा करीब १२५ जना विद्यार्थीहरुलाई नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्रकार, ताम्राकार समाजका पूर्व अध्यक्षहरु धर्मकृष्ण ताम्रकार, श्याम गोविन्द ताम्रकार, निवर्तमान अध्यक्ष अच्युत कृष्ण ताम्रकार तथा अध्यक्ष रविन्द्रराज ताम्राकारले ट्रफी, कदर पत्र एवं नगद पुरस्कारबाट सम्मान गरेका छन् । उनीहरुले उत्कृष्ठ अंक ल्याई एस.ई.ई, उच्च मावि, स्नातक, स्नातकोत्तर तह उतीर्ण गरेका थिए । ताम्राकार समाजको स्वर्ण जयन्तीको अवसर पारेर जावलाखेलमा आयोजित जेष्ठ नागरिक एवं शैक्षिक सम्मान कार्यक्रममा अहिलेका विद्यार्थी वर्गले आफ्नो पहिचान बचाइ राख्ने हो भने आफ्नो मातृभाषाको रक्षा गर्न सक्नुपर्ने बताए ।
उनले नेवाःहरुको मुद्दा तथा आन्दोलनमा ताम्रकार समूदायको योगदान उच्च रहेको भन्दै प्रशंशा गरेका थिए । समाजको जेष्ठ नागरिक सम्मान उपसमिति र शिक्षा उपसमितिबाट आयोजना गरिएको कार्यक्रममा समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले कोरोना भाइरसका कारण समाजबाट स्वर्ण जयन्तीको अवसरमा धेरै कार्यक्रमहरु गर्न नसकिएको बताए । उनले भाषा, कला, संस्कृति सम्पदा संरक्षण सम्बद्र्धनमा ताम्रकार समाज सक्रिय रहेका बताए । सो कार्यक्रममा ताम्रकार समाजबाट ज्या जंक्वः (७८ वर्ष) पूरा गरेका करिब ३५ जेष्ठ नागरिकहरुलाई देय् दबूका अध्यक्ष एवं समाजका अध्यक्षले दोसल्ला ओढाई विशेष सम्मान गरेका थिए ।


