प्रचण्डसँग माधव समूहको एकिकरण हुने पौडेलको दावी

प्रचण्डसँग माधव समूहको एकिकरण हुने पौडेलको दावी तरुण खबर ७ बैशाख २०७८, मंगलवार ११:०३
प्रचण्डसँग माधव समूहको एकिकरण हुने पौडेलको दावी

माधव समूहको मुख बन्द
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाल र माधवकुमार नेपाल समूहको अनुपस्थितमा बैठक राखेका छन् । महाधिवेसन आयोजक कमिटी गठन गरी धमाधम महत्वपूर्ण निर्णय गर्दै हिजै ८ जना नेतालाई दोस्रो पटक स्पष्टिकरण सोधेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका लागि डाकिएको भए पनि खनाल–नेपाल समूहका अधिकांश नेताहरूले आफूहरूले सहभागी नहुने बताएका थिए । महाधिवेशन आयोजक कमिटी बनाउँदा आफूहरूलाई जानकारी नदिइएको र उक्त कमिटी अवैधानिक रहेकाले बैठकमा नजाने उनीहरुको तर्क रहदै आएको छ ।

नेपाल समूहकै नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष ओलीले माओवादीसँग पार्टी एकीकरण गराएको तर प्रधानमन्त्री बनेपछि भने एकीकरणका अन्य पक्षबारे ध्यान नदिएको आरोप लगाइरहेका छन् । खनाल–नेपाल समूह आइतबार एमाले पुनस्र्थापित भएपछि अध्यक्ष ओलीले गरेका निर्णयहरू बदर गर्न माग गर्दै निर्वाचन आयोग पुगेको थियो । उक्त समूहले देशव्यापी रूपमा समानान्तर कमिटीहरू पनि गठन गरिरहेको छ । नेपाल–खनाल समूहले समानान्तर कमिटी बनाइरहेका बेला एमाले स्थायी कमिटी सदश्य रघुजी पन्तले विधानविपरीतको निर्णय गरेर अघि बढ्नु भनेको त पार्टी विभाजनमा लाने काम हो भनेका छन् ।

उनी माधवकुमार नेपाल निकट नेता हुन् । पार्टी विभाजन त हामीले सोचेकै छैनौँ नेतृ शाक्यले भनेकी छन् । हामीले त नेकपा एमालेलाई बलियो बनाउन चाहन्छौँ, समेट्न नसकेका शक्तिलाई हामी गोलबन्द गर्न चाहन्छौँ उनले भनिन् । ओलीपक्षीय नेता विशाल भट्टराईले भने खनाल–नेपाल समूहले पार्टीमा अलगै समूह खडा गर्ने र कुनै न कुनै शक्ति केन्द्रमा लगेर मिसाउने हरकत गरिराखेको आरोप लगाएका छन् । उहाँहरूसँग अहिलेसम्म त्यो कन्फिडेन्सचाहिँ देखिँदैन कि हामी छुट्टै शक्ति निर्माण गर्छौँ, पार्टी बनाउँछौ र त्यो पार्टी अस्तित्वमा रहन्छ भन्ने आत्मविश्वास देखिन्न भट्टराईले भने ।

केही दिनअघि माओवादी केन्द्रका स्थायी समिति सदश्य देवेन्द्र पौडेलले माधव नेपाल समूहसँग माओवादी केन्द्रको एकिकरण हुने जानकारी दिएका थिए । माधवकुमार नेपाल समूहले एकिकरणको विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेका चार प्रदेशसभा सदस्य र चार निलम्बित नेतालाई थप दुई दिनको समय राखेर थप स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एमालेले विभाजनकारी गतिविधिमा लागेको नेताहरूलाई पार्टीमा फर्किन आग्रह गरेको र नफर्के कारबाही गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।

एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा बसेको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलको साङ्गठनिक प्रतिवेदन सुझावसहित पारित भएको पार्टी प्रवक्ता ज्ञवालीले बताए ।यसअघि नेकपाको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको प्रथम पूर्ण बैठकले केही पार्टी नेताहरूलाई कारबाही गर्न लागेको प्रतिनिधिसभाका प्रमुख सचेतक विशाल भट्टराईले बताएका थिए । पछिल्ला दिनहरूमा पार्टी अनुशासनका गम्भीर उल्लङ्घनको समीक्षा गर्दै केही उल्लङ्घनकर्ताहरूलाई कारबाही गर्ने विषय बैठकको एजेन्डामै रहेको उनले सार्वजनिक रुपमै जानकारी दिएका थिए ।