तरुण खबर
८ बैशाख २०७८, बुधबार १०:३७
आज प्राणप्रतिश्ठा सहितको राम–सीताको मूर्ति राखिने
काठमाडौं । आज बैशाख ८ गते राम नवमी । हिन्दू धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो । सत्यमाथि विजय प्राप्त गरेकाले पनि पर्वलाई विजय पर्व भनिएको हो । यो पर्व चैत्र शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ । प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री रामका साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा गरिन्छ ।
त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ । हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई मंगलबार बालुवाटारमा विधिवत् रूपमा पूजा गरी चितवन पठाइएको छ ।
प्रधानमन्त्री निवासमा रथयात्रालाई विदाई गरी रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोह बीच प्रतिमासहितको रथयात्रालाई विदाई गरेकी थिइन् । मूर्तिहरु लिएर गएको रथ आज चितवनको देवघाट बास बस्ने छ । आज बुधबार माडीको अयोध्यापुरी प्रतिश्थापन गरिनेछ । अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्रााणप्रतिष्ठा गरेर मूर्तिहरु राख्ने कार्यक्रम रहेको छ । यसै क्रममा राजधानीको बत्तिसपुतली स्थित राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड गरेको छ । रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्छ ।
मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ । पवित्र पोखरी गङ्गासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ । तर यस वर्ष कोरोना महामारीका कारण भारत र नेपालकै श्रद्धालुहरु आउने सम्भावना छैन । नेपाल सरकारले २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएकाले पनि श्रद्धालु भक्तजनहरु भेला हुने सम्भावना छैन ।


