तरुण खबर
८ बैशाख २०७८, बुधबार १०:४१
काठमाडौं । यही आइतबार भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोनाभाइरस संक्रमण भएको छ । काठमाण्डौंमा गरिएको पीसीआर परीक्षणमा उनीहरूमा संक्रमण देखिएको हो । उनीहरू दुवै जना निर्मल निवासमा आइसोलेसनमा बसिरहेका छन् । भारतमा कुम्भमेलामा सहभागी सयौँ मानिसलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पूर्व महाजार ज्ञानेन्द्र शाह गत साता हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएका थिए ।
पूर्व राजा ज्ञानेन्द्र शाह निरञ्जन पीठका पीठाधीश्वरको निम्तोमा कुम्भमेलामा सहभागी हुन हरिद्वार गएका थिए । नेपाल फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले हरिद्वारमा आफूले पाएको विशेष सम्मान, सत्कार र संस्कारयुक्त आदरभावप्रति निरञ्जन पीठका पीठाधीश्वर कैलाशानन्द गिरी तथा समस्त सन्तमहात्माप्रति कृतज्ञता व्यक्त गरेका थिए । साथै उनले आफ्नो भारत बसाइलाई सरल र सहज बनाउने व्यवस्थाका लागि भारतीय जनता र भारत सरकारप्रति पनि आभार व्यक्त गरेका थिए ।


