तरुण खबर
१३ बैशाख २०७८, सोमबार १२:१४
निधि भन्छन – ‘हामी पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव ल्याउँदैनौं’
काठमाडौं । नेपाली कांग्रेसले संख्या नपुगेसम्म प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता नगर्ने स्पष्ट पारेको छ । सभापति निवास बुढानिलकण्ठमा हिजो आइतबार बसेको पदाधिकारी बैठकले तत्काल अघि नबढ्ने निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस उपसभापति विमलेन्द्र निधिले पहल गरे पनि आफूहरुसँग प्रयाप्त संख्या नपुगेको बताए ।
संख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव नराख्ने निधिको भनाइ छ । ‘प्रस्ताव फेल भयो भने त एक वर्षसम्म राख्न पाइँदैन । आफैं खाडलमा फसिन्छ,’ उनले भने, ‘हामी पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव ल्याउँदैनौं ।’ सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगन गरेको छ । कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढेको भन्दै सबै केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरेपछि मात्र बैठक १५ गते बस्ने तय भएको हो ।


