लकडाउनले मात्र उपत्यकाको कोरोना संक्रमण नियन्त्रण होला ?

लकडाउनले मात्र उपत्यकाको कोरोना संक्रमण नियन्त्रण होला ? तरुण खबर १४ बैशाख २०७८, मंगलवार ११:३२
लकडाउनले मात्र उपत्यकाको कोरोना संक्रमण नियन्त्रण होला ?

सोमबार नेपालमा ३,५५६ जना संक्रमित, १२ जनाको संक्रमणबाट निधन
काठमाडौं । सरकारले सोमवार अपराह्ण प्रकाशित गरेको तथ्याङ्कअनुसार नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हिजो सोमबार नै कोरोनाभाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यसबीचमा काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सयभन्दा केही बढी सङ्क्रमित थपिएको सरकारी विवरण छ । मन्त्रालयका अनुसार २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ४ सय र एन्टिजन विधिबाट ८९३ जनाको परीक्षण गरिएकोमा क्रमशः ३४४२ र ११४ जनामा कोभिड–१९ पुष्टि भएको थियो ।  अहिले देशभरि २२,४३४ जना पुष्टि भएका सङ्क्रमितहरू आइसोलेसनमा छन् ।

नेपालमा हालसम्म ३ लाख ३ हजार ५६१ जना कुल कोरोना भाइरसका संक्रमित छन् । कुल संक्रमितमध्ये ३ हजार ४४२ जनाको निधन भएको छ । उपत्यकामा आगामी बिहीबारदेखि निशेधाज्ञा लागु हुने भएको छ । निशेधाज्ञामा खाद्यान्न, फोहोरमैला, स्वास्थ्य, सञ्चार सहितका अत्यावश्यक सेवाका सवारी, औषधि पसलहरू, खाद्य सामग्री पसलहरू (दैनिक बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म), डिपार्टमेन्ट स्टोरका ग्रोसरी पसलहरू मात्र बिहान १० देखि साँझ ५ बजेसम्म, सरकारका कर्मचारीहरू एवं वित्तीय तथा अत्यावश्यक सेवाका कर्मचारीहरूको आवतजावत र सञ्चारकर्मीहरूको आवतजावतमा निशेधाज्ञा लगाइने छैन काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अनुमति लिएर बढीमा १५ जना सहभागी हुने गरी विवाह र ब्रतबन्धजस्ता कार्य गर्न सकिने छ । त्यस्तै अस्पताल जानुपर्ने बिरामी, कुरुवा एवं मृत्यु संस्कारमा अनिवार्य जानुपर्ने एवम् अन्तर्राष्ट्रिय उडानका भिसा र टिकट हुनेहरूले अनुमति लिएर यात्रा गर्न पाउने छन् । कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि स्थानीय प्रशासनहरूले काठमाण्डौं उपत्यकामा वैशाख १६ गते बिहानदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । विभिन्न प्रतिबन्ध लगाइएको आदेश वैशाख २२ मध्यरातीसम्म कायम रहने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यसैबीच त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित परीक्षाहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगन गरिएको जनाएको छ ।

सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोभिडको नयाँ लहरको कारण देखाउँदै सञ्चालन भइरहेका र सञ्चालनको प्रक्रियामा रहेका परीक्षाहरू रोक्ने निर्णय गरेको हो । सोमवार दिउँसो उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञाको प्रारूपबारे छलफल गरेका थिए । अत्यावश्यकबाहेक सबै सेवा र व्यापारव्यवसाय, सभा सम्मेलन, तालिम, गोष्ठी र सेमिनार, सार्वजनिक र निजी सवारीसाधन, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पौडी पोखरी, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना, अत्यावश्यक सेवा बाहेकका सार्वजनिक सेवा र काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरू अनिवार्य रूपमा तोकिएका क्वारन्टीन÷होम आइसोलेसनमा बस्नुपर्ने आदेश गरिएको छ ।