तरुण खबर
१६ बैशाख २०७८, बिहीबार ११:४४
कोरोना संक्रमण बढेपछि मानसिक समश्या बढ्दो
काठमाडौं । मानसिक स्वास्थ्य सेवालाई अनलाइनमार्फत सेवा प्रवाह गर्ने उद्देश्यले ‘ह्याप्पी माइन्स् डट हेल्थ’को शुरुआत गरिएको छ । जीजी कर्पोरेसन प्रालिले सञ्चालनमा ल्याएको हो । काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममार्फत ’ह्याप्पी माइण्ड्स् डट हेल्थ’ शुरुआत गरिएको हो । गायिका एवं सामाजिक अभियन्ता आनी छोइङ डोल्माले ’ह्याप्पी माइन्ड्स् डट हेल्थ’ को औपचारिक उद्घाटन गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले खासगरी युवाहरूलाई अनिवार्य रुपमा ध्यान गर्न सुझाव दिइन् । संगीतले पनि थेरापीको काम गर्ने बताउंदै उनले आफ्नो शारीरिक साथै मानसिक स्वास्थ्यको पनि ख्याल गर्न सबैलाई आग्रह गरिन् ।
उनले सही समयमा सही सेवा शुरु गरेको भन्दै ’ह्याप्पी माइन्ड्स् डट हेल्थ’ को सफलताको कामना पनि गरेकी थिइन् । ’ह्याप्पी माइण्ड्स् डट हेल्थ’ अनलाइनबाटै मानसिक स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने अनलाइन प्लेटफर्म हो । जीजी कर्पोरेसन प्रालिले सञ्चालनमा ल्याएको ह्याप्पी माइन्ड्स् डट हेल्थका माध्यमबाट मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गरिने उक्त संस्थाले बताएको छ ।
मनोचिकित्सक डा. सुरज शाक्यको नेतृत्वमा ह्याप्पी माइण्ड्स् डट हेल्थमा नेपाल, अमेरिका र अष्ट्रेलियाका काम गरिरहेका अनुभवी नेपाली मनोविशेषज्ञ रहेका छन् । डा. शाक्यले कोभिड महामारीका बेला मानिसहरूमा मानसिक स्वास्थ्य समस्या पनि निकै बढेर गएको बताउँदै रोजगारदाताहरूलाई आफ्ना कर्मचारी र शैक्षिक संस्थाहरूलाई आफ्ना विद्यार्थीहरूको मानसिक स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका थिए । ह्याप्पी माइन्ड्स्की प्रबन्ध निर्देशक श्रेया गिरीले अनलाइनबाटै मनोचिकित्सा सेवा प्रदानका लागि ह्याप्पी माइन्ड्स् डट हेल्थ सुरु गरिएको बताइन् ।
‘कोरोना प्रकोपपछि विश्वभरि मानसिक समस्या विकराल बनिरहेको छ, नेपालमा पनि यो अवस्था निकै गम्भीर रुपमा देखिएको छ,’ प्रबन्ध निर्देशक गिरीले भनिन्, ‘यही समस्याको न्यूनिकरण र निराकरणको उद्देश्यका साथ हामीले युवाहरूको टिम बनाएर ह्याप्पी माइन्ड्स् डट हेल्थ शुरु गरेको हो’ उनले जानकारी दिइन् । प्रबन्ध निर्देशक गिरीले नै यो सेवा र प्लेटफर्मको अवधारणा ल्याएकी हुन् । गत वर्ष लन्डनमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका बेला कोभिड–१९ प्रकोप शुरु भएपछि आफू पनि मानसिक स्वास्थ्य समस्याबाट भूक्तभोगी रहेको बताइन् ।
लकडाउनका बेला आफूलाई निरास र एक्लो महसुस गर्दै आफ्नो काम र विश्वविद्यालयको पठन पाठन गर्न पनि असमर्थ भएपछि नेपाली मनोचिकित्सकको खोजी गर्दा निकै सास्ती भोगेको उनले बताइन् । ‘त्यसपछि मैले यो समस्याको पहिचान गरी समाधान खोज्ने अठोट लिएँ, त्यसैको प्रतिफल ह्याप्पी माइन्ड्स् डट हेल्थ सुरु गरिएको हो,’ गिरीले जानकारी दिइन् सिंगापुर रेडक्रसकी प्रतिनिधि कल्पना क्षेत्री, इथियोपियाका लागि मानार्थ महानगरीय महावाणिज्यदूत राजेन्द्र गिरी, नर्थफेस, टिम्बरल्याण्ड र कोलम्बिया ब्रान्डकी सञ्चालक डिकिला लामा लगायतले ह्याप्पी माइण्ड्स् डट हेल्थ मानसिक स्वास्थ्य सेवाका लागि महत्वपूर्ण अनलाइनमाध्यमका रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।


