तरुण खबर
२७ बैशाख २०७८, सोमबार ०९:२६
देउवाको विज्ञप्तिको पूर्ण विवरण
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अकरमन्यताले भेन्टिलेटर सहितका आइसीयू बेड र औषधीको नितान्त अभाव भएको बताएका छन् । अस्पतालमा अक्सिजन नपाएर बिरामी छट्पटाएर मर्नु परेको र अस्पतालमा बेड खोज्दै घरमा, बाटैमा र एम्बुलेन्समा ज्यान गुमाउनु परेको दयनीय घटना देखा परेको सभापति देउवाको विज्ञप्तिमा उल्लेख छ । कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बावजूद सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था गर्न सकेको छैन । हाम्रो पार्टी (नेपाली काँग्रेस) ले कोभिड–१९ को प्रकोप प्रारम्भ हुँदा नै सरकारलाई सहयोग गर्ने प्रतिवद्धताका साथ समयमा नै नियन्त्रण र रोकथामका उपाय अपनाउन पटक–पटक ध्यानार्कषण गराउँदा पनि सरकार सचेत एवं गम्भीर भएन सभापति देउवाद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।
विज्ञहरुले कोभिडको पटक–पटक लहर आउन सक्ने, जुनसुकै बेला जोखिम बढ्न सक्ने भनि दिएको चेतावनीलाई सरकारले नसुन्दा अहिलेको अबस्था आएको हो । सरकारले नियन्त्रण र रोकथामका लागि पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको आफ्नो न्यूनतम जिम्मेवारी बोध गरेन, समयमा कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेन र फलस्वरुप अहिले नेपाल विश्वमा नै कोभिड–१९ को उच्च जोखिममा रहेका देशहरुमा गणना भएको छ । यस्तो अवस्था सिर्जना हुनमा यो सरकार पूर्ण रुपमा जिम्मेवार भएको देउवाको दावी छ । अहिले कमीशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको छ । सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ होइन ।
जनताको जिवन रक्षा गर्ने औषधीमा पनि भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध हो । जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जिवनदायीनी औषधी (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ । सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भत्र्सना गर्दछु सभापति देउवाको विज्ञप्तिमा भनिएको छ । यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु देउवाको विज्ञप्तिमा भनिएको छ ।


