तरुण खबर
२७ बैशाख २०७८, सोमबार ०९:४२
काठमाडौं । नेपालको दक्षिणतर्फको छिमेकी मुलुक भारत कोरोना भाइरस महामारीको दोस्रो ठूलो लहरको चपेटामा छ । तर भारत सरकारले केही क्षेत्रमा भाइरसको संक्रमण दर केही सुस्त हुन थालेको संकेत देखिएको भनेको छ । मार्च महिनाको मध्यबाट सुरु भएको भारतमा संक्रमण दर तीव्र गतिमा बढेर गएको छ । आजभन्दा सातअघिदेखि दैनिक (१, मेदेखि ७ मेसम्म) करीब ३ लाख ५० माथि ४ लाख १४ हजारसम्म संक्रमित थपिएका छन् । भारतमा बैशाख १८ गते (१, मे) मा ३ लाख ९२ हजार ५६२ संक्रमित देखिएका थिए । त्यस्तै, बैशाख २४ गते शुक्रबार ४ लाख १४ हजार ४३३ जना कोरोना संक्रमित थपिएका थिए ।
अहिलेसम्ममा कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा बढी अर्थात बैशाख २३ गते ३ हजार ९८२ जनाको मृत्यु भएको छ । भारतको तुलनामा भूगोल र जनसंख्याका दृष्टि कोणबाट सानो मुलुक नेपालमा संक्रमण दर भने उच्च रहेको विज्ञहरुले बताउँदै आएका छन् । २ करोड ९५ लाख ७७ हजार ८८३ जनसंख्या भएको नेपालमा कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ जना छन् । कुल संक्रमितमध्ये ७८ हजार ६२९ जना त सक्रिय संक्रमित नै छन् । केही दिनदेखि दैनिक ८–९ हजार कोरोनाभाइरसका संक्रमित थपिदै आएका छन् । बैशाख २५ गतसम्ममा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ५७९ जनाले ज्यान गुमाएका छन् ।
यता, भारतका केही राज्यहरू– महाराष्ट्र, गुजरात र तेलंगाना र राजधानी दिल्लीमा– सङ्क्रमणको स्तर घटेको बताइरहँदा ती स्थानहरूमा परीक्षणको दर पनि घटेको देखिएको छ । एप्रिलको मध्यमा दिल्लीमा दैनिक एक लाख परीक्षण भइरहँदा दैनिक फेला परेका अभिलेखकृत संक्रमित संख्या करिब १६ हजार थियो । तर एप्रिल महिनाको अन्त्यमा संक्रमितको संख्यामा ५५ प्रतिशतभन्दा बढीले वृद्धि देखिँदा परीक्षण दरमा २० प्रतिशत कमी देखिएको छ । गुजरात र तेलंगानामा पनि यस्तै प्रवृत्ति देखिएको थियो । तर भारतमा देशभर भइरहेको परीक्षण दर प्रति एक हजार मानिसमा १.३ रहेको छ । जुन दर अमेरिकामा तीन र यूकेमा १५ छ ।
कोरोनाभाइरस संक्रमण परीक्षण गर्ने क्षमतामाथि पनि चर्को दबाब परेको छ । परीक्षण केन्द्रहरूमा चाप एकदमै बढ्दा मानिसहरूले सहजै परीक्षण गराउन पाएका छैनन्, डा. जनले भनेको भनी बीबीसी न्यूले लेखेको छ । गत वर्ष डब्ल्यूएचओले दिएको सुझाव अनुसार कोरोनाभाइरस सम्बन्धी कडा प्रतिबन्धहरू खुकुलो पार्नु अघि देशहरूले पोजेटिभ परीक्षणको दर पाँच प्रतिशत भन्दा मुनिमा झरेपछि कम्तीमा दुई हप्ता पर्खनु पर्दछ । दिल्ली नजिकैको अशोका विश्वविद्यालयका प्राध्यापक तथा गणितीय मोडेल विज्ञ गौतम मेनन भन्छन– पोजेटिभ टेष्ट हुने दर अझै उच्च छ, देशव्यापी रूपमा झन्डै २० प्रतिशत । त्यसैले भारतमा दोस्रो लहर अब सकिन लाग्यो भनी सोच्न सकिन्छ भनेर म विश्वास गर्दिनँ ।
व्यापक मात्रामा परीक्षण गरिएको खण्डमा मात्रै भाइरसको विस्तारको सही अनुमान लगाउँन सकिन्छ । भारतमा दैनिक झन्डै बीस लाख परीक्षण हुँदै आएको छ । यो महिनाको आरम्भतिर यो संख्या घटेर १५ लाख भएको थियो । परीक्षणमा देखिएको यो अस्थायी कमीले मे महिनाको प्रारम्भिक दिनमा दैनिक संक्रमणको संख्या घट्न पुगेको अवस्थालाई व्याख्या गर्न सघाउ पु¥याउँछ । परीक्षणको तरिका देशका विभिन्न भाग अनुसार फरक फरक छ, केही स्थानमा यो उल्लेख्य रूपमा नै घटेको छ । विश्व स्वास्थ्य सङ्गठनका परामर्शदाता र अर्थशास्त्री रिजो जन भन्छन्– यस्तो पहिलेको उच्च संक्रमणको लहरका बेला सेप्टेम्बर महिनामा पनि देखिएको थियो बीबीसी न्यूजले उनलाई उदृत गर्दै लेखेको छ । त्यस बेला दैनिक एक लाख सङ्क्रमित फेला पर्न लागेका बेला परीक्षण दर घटेको थियो ।


