अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला तरुण खबर २७ बैशाख २०७८, सोमबार ११:४०
अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला

आइतवारदेखि नै आपत्काल घोषणा
काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा ¥यान्समवेअर साइबर हमला भएपछि आइतवार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ । उक्त ¥यान्समवेअर हमला डार्कसाइड नामक साइबर आपराधिक समूहले गराएको पुष्टि गरेका छन् । सो समूहले बिहीवार कोलोनियलको नेटवर्कमा छिरेर करिब १०० जीबी डेटामा पकड जमाएका थिए । त्यसपछि तिनले ती डेटा केही कम्प्युटर तथा सर्भरमा राखेर शुक्रवार फिरौतीको माग गरेका थिए ।

फिरौती वा ¥यान्सम नतिरिए सबै डेटा इन्टरनेटमा सार्वजनिक गरिदिने तिनले धम्की दिएको बीबीसी न्यूजले लेखेको छ । कोलोनियल कम्पनीले उसले अधिकारीहरू, साइबर सुरक्षा विज्ञहरू तथा ऊर्जा मन्त्रालयसँग मिलेर सेवा पुनर्स्थापित गर्ने काम गरिरहेको बताएको छ । आइतवार साँझ भने उसले चार मुख्य लाइनहरू अफलाइन भए पनि साना लाइन सञ्चालन गरेको बताएको छ । साइबर हमलाकारीहरूको समूहले शुक्रवार त्यस्तो हमला गरेपछि सेवा सुरु गराउने प्रयास जारी छ ।

कोलोनियल पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ । इस्ट कोस्टको निम्ति डिजेल, ग्यासोलिन तथा जेट इन्धनको सम्पूर्ण आपूर्तिको यो ४५ प्रतिशत हो । शुक्रवार साइबर हमलाकारीहरूले यसलाई पूर्ण अवरुद्ध पारिदिएका थिए । आपत्काल घोषणा गरिएपछि सडकमार्गबाट इन्धन ढुवानी गर्न सकिन्छ ।

विज्ञहरूका अनुसार सोमवार इन्धनको मूल्य २–३ प्रतिशतले बढ्न सक्छ । तर यदि प्रभाव लामो समय रह्यो भने मूल्यमा असर पनि धेरै पर्ने ठानिएको छ ।

के हो डार्कसाइड ?
साइबर हमला गराउने आपराधिक समूहहरूमध्ये डार्कसाइड सबैभन्दा ठूलो होइन । तर यो घटनाले ¥यान्समवेअरका कारण व्यापार मात्र नभई महत्वपूर्ण औद्योगिक संरचनासमेत बढ्दो खतरामा परेको देखाएको छ । साथै यसले साइबर सुरक्षा क्षेत्रले पहिले देखेको भन्दा खतरनाक किसिमका आपराधिक समूहको उदय भएको पनि देखाएको छ । डार्कसाइडका पीडितहरूले तिनको कम्प्युटर स्क्रीनमा सूचनाका अतिरिक्त तिनको कम्प्युटर तथा सर्भरहरू इन्क्रिप्ट गरिएका विवरण पाउने गर्छन् ।

सो समूहले आफूले चोरेका सबै डेटाका किसिमबारे बताउँछ अनि निश्चित् समयसीमाभित्र फिरौती रकम नतिरिए तिनलाई सार्वजनिक रूपमा प्रकाशित गरिदिन्छ । लन्डनस्थित साइबर सुरक्षा कम्पनी डिजीटल स्याडोजका अनुसार डार्कसाइड कुनै व्यापार जसरी सञ्चालन हुने गर्छ । डिजीटल स्याडोजका अनुसार कोलोनियल पाइपलाइनमा भएको साइबर हमलाको एउटा कारक तत्व कोरोनाभाइरस महामारी पनि हो ।

किनकि घरबाटै इञ्जिनियरहरूले नियन्त्रण प्रणालीमा पहुँच पाउन थालेका थिए । डिजीटल स्याडोजका सहसंस्थापक जेम्स च्यापलका अनुसार टिमभिवर र माइक्रोसफ्ट रिमोट डेस्कटपजस्ता घरबाटै प्रणालीमा पहुँच दिलाउन सक्ने रिमोट डेस्कटप सफ्टवेअरसम्बन्धी एकाउन्ट लग इन का विवरण डार्कसाइडले किनेको हुनुपर्छ बीबीसीले उल्लेख गरेको छ ।

डार्कसाइडको डार्कवेबमा वेबसाइट रहेको र त्यहाँ उसले कुन कुन कम्पनीमा ह्याक गरियो भनेर धाक लगाउने शैलीमा विवरण राख्ने गरेको उनले बताए । “अब धेरै पीडित हुन थाले । यो साँच्चिकै गम्भीर समस्या बन्न थालेको छ,” च्यापलले भनेको भनी बीबीसीले उल्लेख गरेको छ ।

हरेक दिन नयाँ पीडितहरू देखापरिरहेको तथा खासगरी साना व्यवसायहरू पीडित हुन थालेको उनले बताए । डिजीटल स्याडोजको अनुसन्धानले ती साइबर हमलाकारी आपराधिक समूह रुसी भाषा बोलिने देशमा अवस्थित रहेको सम्भावना देखाएको उनले बताए । किनभने सो समूहले रुस, यूक्रेन, बेलारुस, जर्जिया, आर्मेनिया, मोल्दोभा, अजरबैजान, कजाख्स्तान, किर्गिज्स्तान, ताजिकिस्तान, तुर्केमेनिस्तान तथा उज्बेकिस्तानजस्ता देशमा रहेका कम्पनीहरूमा साइबर हमला गरेको नदेखिएको उनले बताए ।