आज आमाको मुख हेर्ने दिन

आज आमाको मुख हेर्ने दिन तरुण खबर २८ बैशाख २०७८, मंगलवार ११:०८
आज आमाको मुख हेर्ने दिन

मातातिर्थबारे विभिन्न किम्वदन्तिहरु

काठमाडौं । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी, कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति, उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी– यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको छ । नेपालमा हिन्दू संस्कृति अनुसार आमाको मुख हेर्ने दिवस वैशाख कृष्ण औंसीको दिन पर्दछ । आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको रूपमा परिचित छ । मातातिर्थ बारे विभिन्न किम्वदन्तिहरू छन् ।

एक किम्वदन्ति अनुसार भगवान् विष्णुको सातौँ अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो । उहाँलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे । फलस्वरूप श्रीराम र उनीहरू बीच घमासान युद्ध भयो ।

युद्धले गर्दा दुवै पक्ष आकुल–व्याकुल थिए । त्यही बेला माता सीताजीलाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गङ्गामाताको स्तुति गर्न थाल्नुभयो । माता गङ्गासमो तीर्थ पिता पुस्कर मे वचः भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमीनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगाको मूर्ति कोरिन पुग्यो ।

त्यतिबेला त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजीकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालो मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ । उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने वेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने वाचाका साथ छोरालाई सम्झाई–बुझाई फर्काइन् । आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो भनिन्छ ।

आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छे अनुसारका खाद्य पदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन् । आमा नहुनेहरू भने यस दिन काठमाडौँ उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जान्छन् । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि छ । उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ ।

मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो । मातातिर्थ काठमाडौँ जिल्लाको चन्द्रागिरी नगरपालिका, थानकोट पर्छ । आमाको पवित्रस्थल भएकाले उक्त ठाउँको नाम मातातीर्थ रहेको हो । स्वस्थानी व्रतकथाका अनुसार यो तीर्थमा सतीदेवीको अङ्ग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो भनिन्छ । पूण्य प्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।