दोलखाको भीमेश्वर वा भीमसेन मन्दिर

दोलखाको भीमेश्वर वा भीमसेन मन्दिर तरुण खबर २८ बैशाख २०७८, मंगलवार १२:०५
दोलखाको भीमेश्वर वा भीमसेन मन्दिर

भीमेश्वर नगरपालिकाको केन्द्र चरिकोट नेपालको राजधानी काठमाण्र्डौबाट १३३ किलोमिटर उत्तरपूर्वमा छ । दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ४ किलोमिटर उत्तरतर्फ भीमेश्वर मन्दिर छ । दैनिक चार पटक पूजा हुने यस मन्दिरमा वडा दशैं, चैते दशैं, एकादशी, बालाचतुर्दशी, वैेशाख पूर्णिमा, कार्तिक पूर्णिमा आदि चाडपर्वहरूमा विशेष पूजा हुने गर्दछ । स्थानीयहरूले भीमसेनलाई ईष्टदेवताको रुपमा पनि पूजा गर्दछन् । भीमेश्वरको पूजाको लागि गुठीको व्यवस्था भएको छ । जसमा ४ गुठीयार र ४ टहलुवाहरू छन् । गुठीयारको काम नियमित रूपमा राकिय–रासपूजा, चाडपर्व अनुसारको विशेष पूजा गर्नु हो । टहलुवाहरूको काम मन्दिर र इधर भगवानको पूजा सामान ठिक गर्नु र चल सम्पति रेखदेख गर्नु हो । यस भीमेश्वर भीमसेन मूर्तिमा शिव महादेवको रूपमा रुद्री पूजा गरिन्छ भने भीमसेन भैरवको रूपमा वलीपूजा पनि भइरहेको छ ।

रुद्रीको साथै वलीपूजा गर्ने चलन कहिलेदेखि भयो यकिन गरी भन्न सकिने अवस्था नभए पनि स्थापना कालदेखि भइरहेका अनुमान छ । वलीपूजाको बेला महादेवशिव चुडामणिमा (दोलखा भीमसेन चुडामणि) गएर बस्नुहन्छ । भीमसेन भैरवले मात्र वली पूजा ग्रहण गर्नुहुन्छ भन्ने जनधारणा छ । भीमसेन भीमेश्वर मूर्तिबाट रातो र सेतो तल चूडामणिको टप्पामा बाँधिएको हुन्छ । देशमा संकट अनिष्ट हुनुभन्दा पहिले भीमसेन मूर्तिमा पसिना आउने गर्दछ भन्ने विश्वास गरिन्छ । त्यसैले भीमसेनलाई पूर्व सूचक भनिएको हो । थाहा भएसम्म वि.सं. १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०३६, २०४६ र २०५७ माघ १ र २ गते पनि पसिना आएको थियो । भीमेश्वर मन्दिर वरिपरि किराँतकाल वा लिच्छवीकालदेखि नै वस्ती बसेको अनुमान छ ।

त्रिभूज आकारको अमूर्त कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पूजिन्छ । त्यसैले एक शिला तीन अबतार मानिएको छ । भीमेश्वरको उत्पात्ति र अन्य कुराको किम्बदन्तिहरु प्रशस्त छन् । एक किम्वददन्ति अनुसार अनुसार उहिले १२ जना ढाँक्रेहरु भीमेश्वर रहेको ठाउँमा बास बस्न पुगेछन् । ढिंडो पकाउनका लागि चुलो बनाउँदा सबैले तीनवटा ढुंगा ल्याए छन् । तर एउटा ढाँक्रेले दुई वटा मात्र ढुंगा ल्याएर भीमेश्वरको ढुंगालाई नै चम्को बनाए छन् । ढिंडो पकाउँन लाग्दा सबैतिर पाक्दो रहेछ, भीमेश्वरको ढुंगालाई चम्को बनाएको भागतिर काँचै रहदो रहेछ । यसरी ढिंडो नपाकेको रिसले चुर भएका ढाँक्रेले बेस्सरी पन्यौले हानेछन् । पन्यौको धारको चोट पर्दा ढुंगाको दाहिने भागको एक टुक्रा फुटेछ । फुटेको भागबाट रगत र दुध बग्न थालेछ ।

ढाँक्रेले यो दृष्य देखेपछि भगवान सम्झी सबै साथीहरुलाई डाकेछ । हुन पनि मूर्तिमा दायाँ भागमा एक टुक्र नभएकाले सबैजनालाई अझ विश्वासिलो बनाएको छ । यस किसिमको उपद्र गरेपछि प्रायश्चित स्वरुप बाह्रै जना ढाँक्रेहरुले बडा दशैंको अष्टमीको दिन १२ बोकाहरु ल्याएर कालरात्री पूजा गर्ने चलन अहिले पनि छ । अहिले पनि चाँगु विगु भन्ने स्थानबाट महअष्टमीको दिन १२ वटा बोकाहरु ल्याएर बली चढाउँने चलन छ, तवसम्म त्यस क्षेत्रमा अष्टमीको पूजा चल्दैन भनिन्छ । हातैले छोडाएको चामल भीमेश्वर पूजा गर्नु पर्ने परम्परा छ । भीमेश्वर मन्दिरमा एकादशीमा लाख बत्ती बाल्ने प्रचलन पनि छ । मूतिको पछाडी ठूलो काठको खम्बा गाडिएको छ, जसलाई चुलका पसी भनिन्छ ।

भीमेश्वरले अबतार फेर्दा उडेर गएको रुप त्यही चूलका पसीको टुप्पामा बसी हेरिरहन्छन् भन्ने जनश्रुति रहेको छ । कसै कसैले यही मूर्तिलाई नै देवी भगवतीको रूपमा पनि मानेका छन् । शिवको अर्को रूप भैरव, भीम पनि हो । त्यसैले महादेव पशुपतिको रूपमा रुद्री पूजा गरिन्छ भने, भीमसेन, भैरवको रूपमा वली पूजा समेत गरिन्छ । यस भीमेश्वर, भीमसेनमा साधारण पूजादेखि पञ्चवली र एकल पूजा समेत गरिने परम्परागत चलन छ । महाभारतको युद्ध पछि नै भीमसेनको मूर्ति स्थापना गरिएको अनुमान छ । भीमसेनको मूर्तिको साथै दायाँतर्फ आमा कुन्ति, बायाँतर्फ पत्नी द्रौपति र यस पछिको दायाँ वायाँ उत्तर दक्षिणमा भाइ नहकुल, सहदेवको साधारण शिला मूर्ति स्थापना गरिएको छ । पाँच पाण्डवमध्येका युधिष्ठिर र अर्जुनको भने नाम निसाना छैन । भीमसेन वीर, साहसी, बलवान अन्याय अत्याचारको विरुद्ध लड्ने योद्धा भएको हुनाले भीमसेनलाई पूँजि आएको हुन सक्ने अनुमान गरिएको छ ।