तरुण खबर
३० बैशाख २०७८, बिहीबार ११:१२
सबैभन्दा बढी कोरोना संक्रमणबाट मंगलबार २२५ जनाको निधन
काठमाडौं । २ करोड ९५ लाख ८५ हजार ५१ जनसंख्या भएको नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख २२ हजार ३४९ भन्दा बढी छ । सक्रिय संक्रमितको संख्या नै १ लाख १ हजार ६३४ छ । कोरोना संक्रमितका कारण देशभरका अस्पतालहरु भरीभराउँ छन् । कतिपय घरघरमै कोरोना संक्रमितको उपचार गर्न बाध्य छन् । बैशाख २९ गतेसम्म ४ हजार २५२ जनाको संक्रमणबाट निधन भैसकेको छ । नेपालका अस्पतालको बेड क्षमता भनेको करीब २७ हजार मात्र हो ।
त्यसमध्ये सरकारी अस्पतालको क्षमता १६ हजारभन्दा केही बढी छ । सक्रिय संक्रमितको सख्या बेड क्षमताभन्दा तीन गुनाभन्दा बढी छ । अनि कसरी धानुन् अस्पतालहरुले । १७ सय आसीयु र ५ सय भ्यान्टिलेटर छन् । हिजो बुधबार मात्र थप ९ हजार ३ सय ५ जनामा कोरोनाभाइरस संक्रमण भएको छ भने बुधबार नै १६८ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । पीसीआर विधि र एन्टिजन विधिबाट परीक्षण गर्दा ९ हजार ३०५ जना संक्रमितहरू फेला परेका हुन् ।
काठमाडौं उपत्यकामा धेरै कोरोना संक्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ । यसबाट परीक्षण गर्न गएका मानिसमा संक्रमण पुष्टि हुने दर उच्च भएको देखिन्छ । नेपालमा पछिल्लो समय कोरोनाभाइरसबाट संक्रमित हुने मानिसको संख्या दिनानुदिन बढिरहँदा स्वास्थ्य प्रणालीमाथि चर्को दबाव परिरहेको सरकारले जनाएको छ । गत दुई सातायता नै नेपालमा एक लाखभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
नेपालमा हालै गरिएको एउटा अध्ययनले कोरोनाभाइरस संक्रमण दर उच्च भएमा जेठ मसान्तसम्ममा दैनिक ११ हजार नयाँ संक्रमित देखिन सक्ने प्रक्षेपण गरेको छ । सो अध्ययनअनुसार दैनिक ११ हजार संक्रमित थपिएमा त्यसको १५ प्रतिशत अर्थात् १ हजार ६ सय बिरामी दैनिक भर्ना गर्नुपर्ने र भर्ना गरेका ती बिरामीलाई अक्सिजन आवश्यक पर्ने हुन सक्छन् । पछिल्ला दिनमा देखिएको संक्रमण दर र मृतकको संख्याले आउँदा दिनबारे सुखद संकेत नगरेको विज्ञहरूले बताएका छन् ।


