तरुण खबर
३१ बैशाख २०७८, शुक्रबार १०:०२
काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर भएपछि देशकै सबैभन्दा ठूलो वासलात भएको वाणिज्य बैंक बन्ने भएको छ । बिहीबार दुई बैंकबीच ’बिग मर्जर’ का लागि औपचारिक सहमति भएको छ । मर्जर सम्झौतापत्रमा हिमालयन बैंकका अध्यक्ष तुलसी गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरेका छन् । मर्जर सम्झौतासँगै दुवै संस्थाले यसको जानकारी राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्ट्रार र धितोपत्र बोर्डलाई औपचारिक रूपमा दिएका छन् ।
यसपछि नबिल, ग्लोबल आइएमइ, एभरेष्ट र एनआइसी एसिया बैंक लगायत धेरैलाई दबाब पर्ने बताइन्छ । नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकबीच तीव्र प्रतिस्पर्धा नै छ । नबिलले बिग मर्जरका लागि पहल गरिरहेको छ । उसले तत्काललाई सानो मर्जर गर्न युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । उसले तीन वटा बैंकसँग समानान्तर रूपमा कुराकानी गरिरहेको दावी गरेको छ ।
बैंकको नामाकरणमा सहमति
बिहीबार दुई बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले जानकारी दिएका छन् । अहिले नामको विषयमा मात्रै सहमति भएको उनले बताए । दुई बैंक मर्जरपछि बन्ने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक चुक्ता पुँजीको आधारमा नेपालकै ठूलो बैंक बन्नेछ । दुई बैंक एक भएपछि कुल चुक्ता पुँजी करिब २७ अर्ब रुपैयाँ पुग्ने छ ।
बिहीबार दुबै बैंकले जारी गरेको संयुक्त विज्ञप्तिमा मर्जरपछि बैंकको निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ । यसैगरी शाखा संख्या १५२ र कर्मचारी संख्या २५ सय भन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुबै बैंकको तर्फबाट तीन तीन जना सञ्चालक नियुक्त हुने र नयाँ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ । मर्जरपछि पूथ्वीबहादुर पाँडे नै प्रमुख कार्यकारी अधिकृत हुने गरी भद्र सहमति भएको छ ।
मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी हिमालयनका अशोक राणा र डेपुटी प्रमुख कार्यकारी ज्योति प्रकाश पाण्डे हुने दुई पक्षबीच सहमति छ । यी दुई बैंकको मर्जर सफल हुनुमा पूर्व गभर्नरद्वय हिमलय शंशेर राणा, डा. चिरञ्जीवी नेपालले दुवै संस्थाका सञ्चालक र प्रमुख कार्यकारीलाई मर्जरमा जान हौस्याएका थिए भने उनको नीतिलाई अहिलेका गभर्नर महाप्रसाद अधिकारीले निरन्तरता दिएका थिए । प्रथम गभर्नर राणाको पारिवारिक बैंक भएकाले पनि मर्जरमा सहज भएको हो ।
अधिकारीले ’मर्जरका लागि केही सहयोग चाहिन्छ भने राष्ट्र बैंकलाई भन्न’ आग्रह गरिरहेका थिए । सबैको चौतर्फी पहलपछि सञ्चालक, प्रवर्दधक र उच्च व्यवस्थापनको साझा मत बनेको हो । प्रणालीलाई निकै फाइदा पु¥याउँछ भनेर मैले दुई बैंकको मर्जरका लागि पहल गरेको थिएँ, पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले भनेका थिए । अरु बैंकहरु पनि मर्जरमा प्रोत्साहित हुँदा संख्या घटेर राष्ट्र बैंकलाई नियमन र सुपरिवेक्षण गर्न पनि सजिलो हुन जान्थ्यो भनेर पनि मैले पहल गरेको हुँ पूर्व गभर्नर डा. नेपालले भने ।


