तरुण खबर
४ जेष्ठ २०७८, मंगलवार १०:२२
नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रको मतभार यस्तो छ
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुने भएको छ । माओवादी केन्द्रले आफ्नो दलबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई कारबाही गरेपछि उनको पद रिक्त भएको थियो । संघीय संसद् सचिवालयले राष्ट्रिय सभामा एक पद रिक्त भएको जानकारी गराएपछि आयोगले निर्वाचनको मिति तोक्ने प्रक्रियाका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।
राष्ट्रिय सभा निर्वाचन ऐनमा रिक्त पदमा ३५ दिनभित्र निर्वाचन भइसक्नुपर्ने व्यवस्था छ । ३५ दिनको अवधि यही जेठ ७ गते पुग्दै छ । त्यसैले जेठ ६ गतेको मिति तोकिएको हो । आयोगले वैशाख १४ गतेभित्र दल दर्ता गर्न आग्रह गरेको थियो । संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेभित्र आयोगमा निवेदन दिन सूचित गरेको थियो ।
निर्वाचन प्रयोजनका लागि प्रदेश सांसद र स्थानिय प्रमुखहरुको पीसीआर परीक्षण र मतदानको सुरक्षा व्यवस्था मिलाइएको सरकारको दावी छ । वाग्मती प्रदेशबाट निर्वाचित थापाको पद रिक्त भएपछि उक्त स्थानमा वाग्मती प्रदेशभित्रैबाट पदपूर्ति हुनेछ । त्यसका लागि वाग्मती प्रदेशको प्रदेशसभाका १ सय १० सदस्य र स्थानीय तहका नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी ३ सय ३८ जनाले मतदान गर्नेछन् । त्यसका लागि रामबहादुर थापा बादल र डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेले आफ्नो पार्टीको आधिकारीक उम्मेदवार बादललाई तोकिसकेको छ भने डा. खिमलाल देवकोटा स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले नेपाली काँग्रेस र माओवादी केन्द्रको मत पाउँने छन् भने एमालेलगायत साना दलको मत गृह मन्त्री बादलले पाउने भएका छन् । राष्ट्रिय सभा निर्वाचनमा मतदातामध्ये एक प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ । बागमती प्रदेश सभामा एक सय १० सांसदको ५२ सय ८० र एक सय १९ स्थानीय तहका दुई सय ३८ प्रतिनिधिको ४२ सय ८४ गरी जम्मा ९ हजार ५ सय ६४ मतभार छ ।
यसमध्ये सबैभन्दा बढी एमालेका प्रदेश सभामा ५७ मध्ये एकजना सांसद पशुपति चौलागाईंको निधन भएसँगै ५६ जना र स्थानीय तहमा एक सय ३३ जना गरी एक सय ८९ मतदाता छन् । यसको कुल मतभार पाँच हजार ८२ हुन्छ । कांग्रेसका प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना गरी ९० जना मतदाता छन् । जसको कुल मतभार २२ सय ८० हुन्छ । त्यस्तै, माओवादीको प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना गरी ५६ जना मतदाता छन् । जसको कुल मतभार १६ सय ९८ हुन्छ ।
कांग्रेस र माओवादीको जोड्दा ३९ सय ७८ मतभार हुन आउँछ । एमाले एकढिक्का हुँदा रामबहादुर थापा बादलको जित सुनिश्चित हुन्छ । यस्तै, राप्रपाले पनि मत आग्रह गरेको खण्डमा थापालाई सघाउने निर्णय गरेको छ । राप्रपासँग स्थानीय र प्रदेश सभामा गरी कुल एक सय ३२ मतभार रहेको छ । यसले थापाको जित थप सुनिश्चित गर्नेछ ।


