तरुण खबर
५ जेष्ठ २०७८, बुधबार १०:४४
सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ भन्दा बढी
काठमाडौं । नेपालमा पछिल्लो समय व्यापक रुपमा फैलिरहेको कोरोनामध्ये अधिकांश भारतीय ‘डबल म्यूटेन्ट (बी.१.६१७.२)’ भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार देशका विभिन्न भागबाट गत साता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटा) बी. १.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी .१.६१७.१ भेरियन्ट पुष्टि भएको छ ।
परिवर्तित भाइरससहित हालसम्म नेपालमा तीन किसिमको भेरियन्ट पुष्टि भएको सहप्रवक्ता अधिकारीले बताएका छन् । जनस्वास्थ्यको मापदण्ड पालना गर्न उनले अपिल पनि गरेका छन् । २ करोड ९५ लाख ८५ हजारभन्दा बढी जनसंख्या भएको नेपालमा २८ लाख १२ हजार ९५९ जनाको मात्र नमुना परीक्षण भएको छ, जसमध्ये ४ लाख ७२ हजार ३५४ जना कोरोनाभाइरसका संक्रमित छन् ।
कुल संक्रमितमध्ये ३ लाख ५२ हजार ४१४ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । नेपालमा जेठ ५ गते बिहानसम्म कोरोना सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ जना छन् । कुल संक्रमितमध्ये ५ हजार ४११ जनाको निधन भैसकेको छ । यसअघि विश्व स्वास्थ्य संगठनले वैशाख २७ गते भारतीय डबल म्यूटेन्ट भेरियन्टलाई विश्वव्यापी ‘भेरियन्ट अफ कन्सर्न’ (याद गर्नुपर्ने भेरियन्ट) भनी घोषणा गरिसकेको छ ।
यो भाइरस सबै उमेर समूहमा धेरै संक्रामक तथा जोखिमपूर्ण रहेको पत्ता लागिसकेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले पहिलो लहरको समयमा कोरोना भाइरसको जीन सिक्वेन्सिङ गरेर अध्ययन गर्दा नेपाल तत्कालीन अवस्थामा फैलिएको भाइरसमा पनि केही आनुवांशिक परिवर्तन भने देखिएको जानकारी दिएको छ । तर, उक्त परिवर्तनले के कस्तो असर गर्छ वा गर्दैन भन्ने अध्ययन भने गरिएको थिएन भनेको छ ।


