तरुण खबर
५ जेष्ठ २०७८, बुधबार १०:५४
भक्तपुर । नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले “नामलाई हैन कामलाई सम्मान” भन्ने बिचार पछ्याउँदै एम्बुलेन्स चालक रुपचन्द्र हुमागाईंलाई सम्मान गरेको छ । बिगत आठ महिनादेखि नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको एम्बुलेन्स चालकको रुपमा कार्यरत हुमागाईंले यस्तो कोभिडको समयमा पनि दिनरात नभनी चौबीसै घण्टा भक्तपुर, ललितपुर, काठमाडौं र काभ्रेका जनतालाई सेवा प्रदान गरेका हुनाले सम्मान गरिएको हो नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाका कार्यबाहक सभापति कल्पदीप खड्काले जानकारी दिएकी छन् ।
नगकोट शाखा पदाधिकारी तथा बिपद व्यवस्थापनका संयोजक बिजय लामिछानेले संयुक्त रुपमा ५ हजार नगद सहित ड्राइभर हुमागाईंलाई सम्मान गरेका हुन् । कार्यक्रममा नगरकोट उपशाखाका कार्यबाहक सभापति कल्पदीप खड्काले यस्तो महामारीको समयमा हुमागाईंले गर्नुभएको कामको सम्मान र उहाँलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको बताएकी थिइन् । उनले आगामी दिनमा पनि नगरकोट उपशाखाले जनतालाई यसरी नै निरन्तर सेवा दिने प्रतिबद्धता जनाएकी थिइन् ।


