तरुण खबर
७ जेष्ठ २०७८, शुक्रबार ११:१७
काठमाडौं । कोरोना भइसरको संक्रमणबाट अहिलेसम्म ५ हजारभन्दा बढी व्यक्तिको ज्यान गैसकेको छ । गत वर्ष चैत महिनाको ११ गतेदेखि त सरकारले लकडाउन नै घोषणा गरेको थियो । २०७८ साल बैशाखदेखि नेपालका अधिकांश जिल्ला लकडाउनमै छन् ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सन् २०१६ मा भएका १ लाख ८३ हजार मृत्युमध्ये ३० प्रतिशत मुटुसम्बन्धी रोगका कारण भएको उल्लेख छ । अन्य नसर्ने रोगले १३ प्रतिशत, क्यान्सरले ९ प्रतिशत, मधुमेहले ४ प्रतिशत अनि सरुवा रोगहरू तथा सुत्केरी अवस्था र पोषणसम्बन्धी कारणहरूले २५ प्रतिशत ज्यान गएको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य सेवा विभागको गत वर्षको प्रतिवेदनमा सन् २०१८ मा भएका कुल मृत्युमध्ये दुईतिहाइ मृत्यु मुटुसम्बन्धी रोगहरू, क्यान्सर, मधुमेह तथा श्वासप्रश्वासका अन्य रोगका कारण भएको उल्लेख गरेको छ । धेरै ज्यान लिने अन्य रोगमा क्यान्सर र क्षयरोग पनि पर्छन् । क्षयरोगका कारण दैनिक ४७ जनाको ज्यान जाने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।
अब प्रदेश नम्बर २ का आठवटै जिल्लाको कोरोना भाइरसको अबस्था र संक्रमणबाट भएको मृत्यु दरबारे विवेचना गरौं । प्रदेश नम्बर २ मा यतिबेला निषेधाज्ञा लगाइएको छ । तैपनि अधिकांश जिल्लामा संक्रमणको दर बढिरहेको पाइएको सरकारी अधिकारीहरूले बताएका छन् ।
सरकारले बुधवार अपराह्ण प्रकाशित गरेको तथ्यांकअनुसार प्रदेश नम्बर २ मा ३३ हजारभन्दा केही बढी मानिसमा कोभिड–१९ पुष्टि भइसकेको बताएको छ । अहिले त्यहाँ ७ हजार ८४१ कोरोना भाइरसका सक्रिय संक्रमित छन् । मृतकको संख्या ४८४ पुगेको छ । अन्यत्र जस्तै यो प्रदेशका जिल्लामा अधिकांश संक्रमितहरू घरमै बसिरहेका छन् ।
कतिपय ग्रामीण भेगमा पूरा गाउँभरि कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेको सर्वसाधारण तथा जनप्रतिनिधिले बताएका छन् । तर परीक्षण नभएकाले संक्रमण पुष्टि हुन सकेको छैन । सबैभन्दा बढी संक्रमित धनुषा, पर्सा र महोत्तरीमा देखिएका छन् । अहिले धनुषामा २ हजार २०३, पर्सामा १ हजार ५३० र महोत्तरीमा १ हजार ७१ जनामा कोरोनाका सक्रिय संक्रमित छन् ।
सर्लाहीको लबरा नगरपालिकाका गाउँ–गाउँमा कम्तीमा चार मानिसको कोभिडसँगै मिल्दोजुल्दो लक्षणका कारण मृत्यु भएको छ । अधिकांशमा ज्वरो, रुघा खोकीजस्ता लक्षण देखिएको छ । तर सरकारको उपस्थिति नदेखिएको गाउँलेहरुले बताएका छन् ।


