तरुण खबर
१० जेष्ठ २०७८, सोमबार ११:१३
विभिन्न देशका विदेश मन्त्रीहरुद्वारा विरोध
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले ग्रीसबाट लिथुआनियातर्फ गइरहेको -यानएअरको विमानलाई आइतवार कैयौँ घण्टासम्म बेलारुसतर्फ मोडिएको घटनाको निन्दा गरेको छ । विमानमा सवार एक पत्रकारलाई पक्राउ गर्न त्यसो गरिएको अभियानकर्मीहरूले बताएको बीबीसीले आफ्नो अनलाइनमा लेखेको छ । अमेरिकाले बेलारुसको कार्यले विमानमा सवार अमेरिकी नागरिकसहितका यात्रुहरूको जीवन खतरामा पारेको भन्दै चर्को निन्दा गरेको छ । युरोपेली देशहरूले बेलारुसमाथि राज्य आतङ्कको आरोप लगाएका छन् ।
नेक्स्टा ग्रुपका पूर्वसम्पादक रोमन प्रोटासेभिचलाई हिरासतमा लिएपछि उक्त विमानलाई पुनः उड्न दिइएको थियो । बेलारुसका सञ्चारमाध्यमका अनुसार उक्त जेट विमानमा बम भएको भन्दै मिग २९ लडाकू विमानहरूले घेरेर बेलारुसको राजधानी मिन्स्कमा ओरालेका थिए । तर विमान खानतलासी गर्दा बम भेटिएनको थिएन । अन्ततः विमान उसको वास्तविक गन्तव्य लिथुआनियाको राजधानी भिल्नियसमा स्थानीय समयअनुसार राति सवा नौ बजे ओर्लिएको थियो, जुन तोकिएकोभन्दा ७ घण्टा ढिलो हो ।
विमानमा रहेका यात्रुहरूले आफूहरूलाई विमान मिन्स्कतर्फ मोडिएको कारणबारे केही सूचना नदिएको बताए । एक जनाले प्रोटासेभिच निकै त्रसित देखिएको बताए बीबीसीले उल्लेख गरेको छ । अर्की यात्रुले उनले अन्य यात्रुहरूतर्फ हेर्दै अब उनले मृत्युदण्ड बेहोर्ने बताएको सुनाइन् । युरोपेली युनियन तथा नेटोमाथि हस्तक्षेप गर्नुपर्ने माग आएका छन् । यूकेका विदेशमन्त्री डोमिनिक राबले बेलारुसको कदमको ’गम्भीर परिणाम’ हुने बताए । बेलारुसकी विपक्षी नेता स्भेत्लाना तिखानोभ्स्कायाले प्रोटासेभिचको रिहाइको माग गरेकी छन् । उनले गत वर्षको चुनावमा राष्ट्रपति अलेक्सान्डर लुकासेन्कोलाई पराजित गरिएको ठानिएको थियो ।
तर अगस्टको चुनावयता ६६ वर्षीय लुकासेन्कोले विरोधीहरूमाथि दमन गरिरहेका छन् । कैयौँ विपक्षी नेता पक्राउ परेका छन् भने तिखानोभ्स्काया लगायत अन्य कतिपय निर्वासनमा गएका छन् । उक्त विमान ग्रीसको एथेन्सबाट भिल्नियसतर्फ जाँदै गर्दा लिथुआनियाली सिमाना नजिकै पुगेपछि मिन्स्कतर्फ मोडाइएको थियो । उक्त विमानमा १७१ जना यात्रु रहेको बताइएको छ । एक विज्ञप्तिमार्फत् ¥यानएअरले उसका विमानचालकहरूलाई बेलारुसको हवाई ट्राफिक नियन्त्रकले विमानभित्र सम्भावित सुरक्षा खतरा रहेको भन्दै नजिकको मिन्स्क विमानस्थलमा ओर्लन सूचित गरेका थिए ।


