महादेव, थानी महाकाल र गुम्बाहरुप्रति मान्छेहरुको आस्था– ४

महादेव, थानी महाकाल र गुम्बाहरुप्रति मान्छेहरुको आस्था– ४ तरुण खबर १० जेष्ठ २०७८, सोमबार ११:२६
महादेव, थानी महाकाल र गुम्बाहरुप्रति मान्छेहरुको आस्था– ४

मछिन्द्रकुमार लामा
अघिल्लो मंगलबार काभ्रे, बेथाञ्चोक–३ मा रहेको नारायणथानको महिमाबारे संक्षितमा चर्चा गरेको थिएँ । नारायणथानको ऐतिहासिक पक्ष, ढुंखर्कको पर्यटकीय सम्भावना र प्रकृतिको योगदानका बारे पनि लेखमा उल्लेख गरेको थिएँ । यस पटक पनि ढुंखर्ककै मठ–मन्दिर, गुम्बाको विषयमा चर्चा गर्ने छु । बेथाञ्चोक–२ ढुंखर्कमा रहेको महादेव मन्दिर, महांकालथान मन्दिर र गुम्बाको बारेमा आफुलाई लागेको लेख्ने छु । मुलतः यो मेरो विचार हो । यद्यपी यसमा केही तथ्यहरु पनि राख्ने प्रयास गरेको छु ।

मुक्तेश्वर महादेवको मन्दिर
बेथाञ्चोक–२ ढुंखर्कमा मुक्तेश्वर महादेवको मन्दिर छ । विशेषतः गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको सक्रियतामा बनेको महादेवको मन्दिर दुर्लुङ खोला र पाट्ने खोलाको दोभानमा छ, जसलाई डोलाखोला पनि भनिन्छ । महादेवको मन्दिर, मन्दिर नजिकै सानो पोखरी र एकै कम्पाउण्डमा बृद्धाश्रम निर्माणले ढुंखर्कको गरीमा बढाएको छ । मन्दिर परिसरमै गाउँपालिकाको कार्यालय बसेको छ । यद्यपी वृद्ध–वृद्धाका लागि बनाइएको यो भवनमा अहिले पालिकाको कार्यालय बसेको छ । पिपलबहादुर तिमल्सिनाको बँइसघारीमा रहेको महादेवको ढुंगे मूर्तिलाई भगवान स्वरुपमा पूजा गर्ने परम्परा थियो ।

त्यस ठाउँको विशेषता के थियो भने– जमिनबाट एक्कासी पानीको मूल फुटेको देख्न सकिन्थ्यो । महादेवका स्वरुप बारे एकैछिन चर्चा गरौं, योग परम्परामा शिव (महादेव– १००८) का अनेकौं रुप छन् भनिन्छ तर १०८ नाम भने चर्चामा छन् । जस्तै, जसले तत्काल सबै इच्छाहरू पूरा गरिदिन्छन्, उनलाई आशुतोष भनिन्छ । प्रथम गुरु भएकाले आदिगुरु, प्रथम देव भएकाले आदिनाथ, प्रथम योगी भएकाले आदियोगी, जसको जन्म भएकै होइन, उसलाई अज भनिन्छ, जसमा अनन्त गुणहरु छन् उनलाई अक्षयगुण, दोषरहित भएको हुनाले महादेवलाई अनघ भनियो । त्यस्तै, अनन्तदृष्टि भएकाले उनलाई अनन्तदृष्टि भनियो ।

जसका वाहन साँढे हो, उसलाई वृषवाहन भनिएको छ भने विश्वको स्वामी भएकाले विश्वनाथ भनिएको छ । अत्यन्तै सरल भएकाले भोलेनाथ भनिन्छ । महादेवका अनेकौं स्वरुप छन् भनिन्छ । योग परम्परामा, शिवलाई एक गुरुको रूपमा पुजिन्छ, भगवानको रूपमा होइन । हामी जसलाई शिव भनिरहेका छौँ, उनका विभिन्न आयामहरू छन् । साविक ढुंखर्क गाविसका प्रायः वडाहरुमा महादेवको मन्दिर छ । त्यसमध्ये विश्वरुपेश्वर महादेवको मन्दिर बेथाञ्चोक–३ को दमारमा छ । समाजसेवी एवं धर्मप्रति अति आस्था राख्ने गेणप्रसाद तिमल्सिना (ज्ञानप्रसाद) का अनुसार यो मन्दिर तीन वटा नदी मिसिएको त्रि–दोभानमा छ, परम्परादेखि नै महादेवको पूजा गर्ने गरिएको भएपनि मूर्ति राखिएको ३० वर्ष भयो ।

करीब ४ रोपनी क्षेत्रफल भएको कम्पाउण्डभित्र मन्दिर बनेको उहाँले जानकारी दिनु भएको छ ।  ३१ हजारमा किनिएको घण्टाको तौल पनि ३१ किलो नै रहेको उहाँले सुनाउनु भयो । शिवलिंगको दान भने गीता शर्माले गर्नु भएको हो । उहाँका पिता बालकृष्ण घिमिरेको समाजसेवी भावना गीता दिदीमा सरेको छ । यो मन्दिरमा वर्षको दुई पटक मेला लाग्ने गरेको गेणप्रसाद तिमल्सिनाले सुनाउनु भयो । बेथाञ्चोक–३ को नारायण टारको नारायणघाटमा पनि महादेवको मन्दिर छ । हालै पाट्ने खोलामा गणेशबहादु तिमल्सिनाले महादेवको मन्दिर बनाउनु भएको छ ।

बेथाञ्चोक–२ र ४ को सीमामा पर्ने डाँडागाउँमा गणेशको मन्दिर रहेको छ भने वि.सं.१६१८ मा बनेको इन्द्रदेवीको मन्दिर छ ।  यो मन्दिरलाई ५० वर्षअघि पुर्ननिर्माण गरिएको हो । मन्दिरभित्र महादेव र पार्वतीको मूर्तिसँगै राखिएको छ । बेथाञ्चोक–२ र ४ को सीमामा पर्ने डाँडागाउँमा नेवारहरुको बस्ती छ । डाँडागाउँको माथिल्लो बस्तीमा किर्तिपुरे नेवारहरुको घरहरु छन् भने तल्लो भेगमा साँगाबाट आएका नेवारहरुको बस्ती छ । बेथाञ्चोक– ३ मा बनेपाबाट आएर बसोबास गर्ने नेवारहरुको बनेपाली टोल नै छ । तर उनीहरु कहिलेदेखि आएर बसोबास गर्न थालेका हुन् अनुमान गर्न पनि गाह्रो छ ।
बेथाञ्चोक–३ मा रहेको थानी महाकालथान
काभ्रे, बेथाञ्चोक–३ को थानी (मुख्य देवता) महाकालथानमा मन्दिर बनेको कहिले हो अनुमान पनि गर्न सकिएको छैन । साविक ढुंखर्क–२ मा थानी महांकालथान पाउँनु हामी सबैको सौभाग्य हो । थानी महाकालबारे प्रसिद्ध एउटा किम्बदन्ती छ– दुई जना मान्छे शिकार खेल्ने क्रममा ठूलो ढुंगामाथि चढेछन््, ढुंगामा बसेको बस्यै गर्न थालेपछि तल बस्ने मान्छेहरुले ढुंगाबाट झर्न आग्रह गर्दा एकतिर सुसाई रहेको नदी र अर्कोतर्फ अग्निको मूस्लो दन्किएको देखेपछि शिकारीहरु ढुंगाबाट झर्न डराएका रहेछन् । पूजाआजा गरेपछि मात्र थानी महाकाल शान्त भएपछि उनीहरु ढुंगाबाट तल झरेका छन् ।

यो घटना भएको कम्तिमा तीन सय वर्ष अगाडिको हो गेणप्रसाद तिमल्सिनाले बताउनु भयो । महाकालबारे पुराण, महाभारत र कालिदास जस्ता महाकविहरुले बयान गरेका छन् । हामी केटाकेटी हुँदा काठैकाठले आठ जोडी थामले बनेको दुई तले पाटी थियो, त्यो पाटी कति सय वर्षअघि बनेको हो ? कसले बनाएको हो ? कसरी क्षेत्रपाल महाकाल उत्पती भए आधिकारीक इतिहास लेख्न, खोज तथा अनुसन्धान हुनै बाँकी छ । यसर्थ जनश्रुतीलाई इतिहासको आधार बनाउनु हाम्रो बाध्यता छ । शनिबार भगवान शनिदेवप्रति समर्पित छ । त्यसैले यदि तपाईंको शनिको दशा चलिरहेको छ भने यो दिन महाकाल मन्दिरमा शनिदेवको पूजा गरेर शान्त पार्न सक्नु हुनेछ ।

यो दिन भगवान हनुमान तथा काली माताको पनि पूजा गरिन्छ । शनिबारलाई अकाल मृत्यु निवारण गर्ने बारको रुपमा पनि लिइन्छ ।  यो दिन शनिदेवका साथै भगवान रुद्रको पूजा गरिन्छ । शनिबारको दिन कालो रंगको कपडा लगाउने र कालो बस्तु गरीबलाई दान गर्दा फल प्राप्ति हुन्छ भन्ने विश्वास छ । बेथाञ्चोक–३ ढुंखर्कमा जस्तै काठमाडौं, टुँडिखेलको पश्चिमतिरको कम्पाउन्डछेउ महाकालको मन्दिर छ । पश्चिमतिर फर्किएको यो मन्दिर मिलिटरी अस्पतालअगाडि पश्चिमतर्फ फर्किएको छ । यस मन्दिरमा तीन तहको धातुको छाना छ । मन्दिरभित्र कालो रंगको डरलाग्दो महाकालको प्रस्तर मूर्ति छ । कालो प्रस्तरमा निर्मित मूर्तिको कान र नाक लगायतका अंगहरू धातुका पाताले मोरिएका छन् ।

नरमुण्डमाला लगाएको र शवमाथि उभिएको महाकालको मूर्तिले मुख बाइरहेको देखिन्छ । महाकालको स्थापना मध्यकालतिर भएको हो भनिन्छ ।  यो मन्दिर कलिगत संवत् ३८२२ मा गुणकामदेवले स्थापना गरेको विवरण वंशावलीहरूमा उल्लेख छ । तर यो संवत् के हो भन्ने कुरा स्पष्ट छैन ।  ई.सं. ९८७ र ९९० सम्मका दुई वटा अभिलेखहरूमा गुणकामदेवले काठमाडौँ उपत्यकामा शासन गरेको उल्लेख छ । इतिहासकार पेट्रेकका अनुसार यिनको शासनकाल १८ वर्ष रहेको थियो । तर १९५८ मा कलकत्तबाट प्रकाशित नेपालको इतिहास नामक पुस्तकका लेखक सुशिल गुप्ताले वि.सं. १०४३ तिर प्रसिद्ध गुणकामदेव राजा भएको अभिलेख पाइएको उल्लेख गरेका छन् ।

महाकालको स्थापनासम्बन्धी एउटा किम्वदन्ती अनुसार, एक पटक महाकाल आकाशमार्गबाट चीनतिर जाँदै गरेको एक जना तान्त्रिक गुभाजुले थाहा पाएछन् । टुँडिखेलतिर बाख्रा चराइरहेका ती गुभाजुले यिनलाई नेपालमै राख्ने विचार गरी राजालाई बोलाएछन् ।  त्यसपछि महाकालको एउटा भव्य मूर्ति बनाई उनलाई यहीं बसी देशको रक्षा गर्न तान्त्रिक विधिले आग्रह गरेछन् । तर महाकालले भने आफु ब्रह्माण्डभर घुमिरहनुपर्ने हुँदा यहाँ सधैं बसिरहन नसक्ने, शनिबार मात्र यहाँ बसी नेपालको सुरक्षा गर्ने बताएछन् । यसरी महाकालले वचन दिएकाले प्रत्येक शनिबार महाकालको दर्शन गर्ने परम्परा बसेको हो ।

बौद्ध दर्शन
अति प्राचिन नगर कपिलवस्तुमा गौतम बुद्धका पिता राजा शुद्धोधनको राजधानी थियो भन्ने कुरा विभिन्न आधारहरुबाट पुष्टि भएको छ । यसै जिल्ला अन्तर्गतको तिलौराकोट भन्ने स्थान नै तत्कालिन शुद्धोदनको राजप्रसाद रहेको कुरा विभिन्न अभिलेखहरुबाट पुष्टि भएको छ । बौद्ध धर्म–दर्शनको प्रारम्भ भएपछि विहार, गुम्बा र बौद्ध शिक्षा केन्द्रहरूमा बौद्ध धर्म–दर्शनमा आधारित शिक्षा र हिन्दु–वैदिक शिक्षाअन्तर्गत विशेषतः गुरुकुल प्रणालीका शिक्षा सीमित मात्रामा प्रचलित थिए । बौद्ध विहार, गुम्बाहरुको स्थापना कतिऔं शताब्दिदेखि शुरु भएको हो भन्ने ठोस् प्रमाण पाइएको छैन ।

यद्यपी दिल्लीका सम्राट अशोकले ८५ हजार बौद्ध स्तुपा बनाउने प्रतिबद्धता जनाएका थिए भनिन्छ ।  उनले स्थापना गरेका स्तुपाहरु नेपाल, भारत, श्रीलंका, इण्डोनेसिया, भियतनाम र लावसजस्ता देशहरुमा अहिले पनि देख्न सकिन्छ । शान्तिका महानायक गौतम बुद्धले प्रतिपादन गर्नु भएको दर्शन, अहिंसा, शान्तिको संदेश र सोको विकास, संरक्षण, प्रचार–प्रसारका माध्यमबाट त्यस क्षेत्रमा रहेका आम बौद्ध मार्गीहरुलाई भूमिका निर्वाह गर्न सजिलो हुने उद्देश्यले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति गठन गरिएको छ । गुम्बाहरु समिति अन्तर्गत बनेका छन्, कतिपय गुम्बाहरु त्यो प्रकृयामा गएका पनि छैनन् ।
बेथाञ्चोक–४ मा बनेको गुम्बा नै यो क्षेत्रको पहिलो
बेथाञ्चोक–४ को २०२४ सालमा बनेको पट्गाउँ डाँडाको रिओबुद्ध पाल्देन छोलिङ गुम्बा नै यो क्षेत्रको पहिलो गुम्बा भएको अनुमान गर्न सकिन्छ । यो गुम्बामा १५ जना युवाले बौद्ध विद्या पढिरहेका छन् । यो गुम्बाका लामा पूजारी हुन्– साङत लामा । उनैले गुम्बा निमाणका लागि १ रोपनी १० आना जग्गा दान दिएका छन् । यसअघि उनका पिता पोर्ते लामाले दैनिक पूजा गर्ने गरेका थिए । बेथाञ्चोक–२ को ढुंखकमा अर्को एउटा गुम्बा सम्पन्न हुनै लागेको छ । सालिमेथुम्का डाँडा बनिरहेको गुम्बाको नाम च्योमतान्ते साङ्गे गुम्बा हो । यो गुम्बाको लागत ४० लाख रुपैयाँ रहेको भीमबहादुर तामाङ (आर्मी काइला) ले बताउँनु भएको छ । यद्यपी गुम्बामा परम्परादेखि नै पूजाआजा हुँदै आएको थियो । तामाङहरुको बस्ती रहेको च्यासिङखर्कमा केही गुम्बा बनेका छन् । क्रमशः