तरुण खबर
१३ जेष्ठ २०७८, बिहीबार ११:४१
देउवाद्वारा दुःख व्यक्त
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको हो ।‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो । कैलालीको भजनी नगरपालिका –१ मा जन्मेका मल्लले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नात्तोकोत्तर हुनुहुन्थ्यो । उहाँको उपचार काठमाडौँमा भएको थियो । मल्लको हिजो राति ११ बजेतिर मृत्यु भएको हो ।
उहाँ निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित हुनुहुन्थ्यो । पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका उहाँ वर्षअघि नेपाली काँग्रेसमा प्रवेश गर्नु भएको थियो । मल्ल बि. सं. २०२८ सालमा कैलालीका पण्डौन गाउँ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमी कैलाली जिल्ला पञ्चायत उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिका अध्यक्ष, २०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहकार हुनुहुन्थ्यो ।
मल्ललाई २०७४ सालमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्ती गरेकी थिइन् । नेपाली काँग्रेसको महासमिति सदस्यसमेत रहनु भएका मल्लको निधनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली दिनु भएको छ ।


