अमेरिकी संक्रमण छानविनप्रति चीनको आपत्ति

अमेरिकी संक्रमण छानविनप्रति चीनको आपत्ति तरुण खबर १४ जेष्ठ २०७८, शुक्रबार ११:०७
अमेरिकी संक्रमण छानविनप्रति चीनको आपत्ति

काठमाडौं । चिनियाँ प्रयोगशालाबाट कोभिड–१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी प्रयासको चीनले निन्दा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएका थिए बीबीसीले लेखेको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको’ आरोप लगाएको छ । चीनले कोभिड–१९ र चीनको वुहान शहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि जनाएको छ ।

कोभिड–१९ सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर वुहान शहरमा देखा परेको थियो । बुधवार दिएको एउटा वक्तव्यमा राष्ट्रपति बाइडनले कोभिड–१९ को उत्पत्तिबारे प्रतिवेदन तयार गर्न भनेका थिए । उनले मानव र संक्रमित जनावरको सम्पर्क वा प्रयोगशालामा दुर्घटना कुन कारणले संक्रमण देखियो थप अध्ययन हुनुपर्ने उल्लेख गरेका थिए ।  अहिलेसम्म त्यही दुईवटा कारणको सेरोफेरोमा अधिकांश गुप्तचरी निकाय घुमिरहेको भन्दै थप सूचना संकलन गरी निश्चित निष्कर्षमा पुग्ने प्रयासलाई अभिवृद्धि गर्न आफूले निर्देशन दिएको बाइडनको भनाइ थियो ।  त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि अमेरिका र अरू देशहरूले भाइरसको उत्पत्तिबारे थप बुझ्न गरिरहेको प्रयासलाई स्वागत गरेका थिए । तर अमेरिकी घोषणाले चीनलाई आक्रोशित बनाएको छ ।
भाइरसबारे डब्ल्यूएचओको भनाई
त्यसयता विश्वभरि १६ करोड ९६ लाख १६ हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएका छन् भने ३५ लाख २४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । चिनियाँ अधिकारीहरूले प्रारम्भिक सङ्क्रमण वुहानको समुद्री खानेकुरा पाइने बजारसँग जोडिएको बताएका थिए जसलाई आधार मान्दै अग्रणी वैज्ञानिकहरूले उक्त भाइरस जनावरबाट मानिसमा सरेको सैद्धान्तिक धारणा राखेका थिए ।

वुहानमा चिकित्सक स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसै वर्षको स्थलगत अध्ययनपछि उक्त भाइरस कुनै प्रयोगशालाबाट बाहिर आउने सम्भावना एकदमै न्यून रहेको टिप्पणी गरेको थियो । उक्त अध्ययनका सहभागी डब्लयूएचओका भाइरोलोजिस्ट मारियोन कुपमेन्सले अमेरिकी निकायहरूसँग कुनै थप सूचना भए उनीहरूले त्यो उपलब्ध गराउनुपर्ने बताए । तर अमेरिकी सञ्चारमाध्यमका पछिल्ला विवरणहरूमा उक्त भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएका प्रमाणहरू बढ्दै गएको र सम्भवतः दुर्घटनावश चुहिएको हुन सक्ने उल्लेख गरिएका छन् ।

प्रयोगशाला सिद्धान्तबारे
चीनको एउटा प्रसिद्ध प्रयोगशाला वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट कोभिड–१९ को उत्पत्ति भएको अनुमान अघिल्लो वर्षबाट गर्न थालिएको थियो । त्यसलाई राष्ट्रपति ट्रम्पले व्यापक प्रचारप्रसार गरेका थिए । एप्रिल २०२० मा अमेरिकी विदेश मन्त्रालयका कूटनीतिक पत्राचारहरूमा त्यहाँ स्थित दूतावासका कर्मचारीहरू जैविक सुरक्षालाई लिएर चिन्तित रहेको पाइएको थियो ।

तर यसै वर्षको शुरूमा डब्ल्यूएचओले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर गरेको अध्ययनपछि प्रयोगशालाबाट सङ्क्रमण शुरू हुने सम्भावना न्यून रहेको उल्लेख गरेको थियो । उ सले सम्भवतः चमेराबाट अरू जीव हुँदै सङ्क्रमण मानिसमा सरेको हुन सक्ने बताएको थियो र थप अध्ययनमा जोड दिएको थियो । जन सुडवर्थका अनुसार भाइरसको उत्पत्तिबारे सबै सम्भावनाको अध्ययन गर्नुपर्ने पक्षमा कैयौँ वैज्ञानिकहरू रहेको भए पनि योसँग जोडिएको राजनीति सहितका कारणले बेइजिङले आफ्नो भूमिकामा अर्को अनुसन्धानको अनुमति दिने सम्भावना एकदमै कम छ ।