तरुण खबर
१५ जेष्ठ २०७८, शनिबार ११:५९
काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिने भनिएको १० लाख मात्रा कोभिड खोप तयारी अवस्थामा राखिएको छ । उक्त खोप सोमबार नेपाल आइपुग्ने नेपाली अधिकारीहरूले बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच गत बुधबार भएको कुराकानीका क्रममा चीनले नेपाललाई १० लाख मात्रा खोप अनुदानमा दिने घोषणा गरेको थियो ।
यो खोप प्राप्त भइसकेपछि बेइजिङले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराएको खोपको मात्रा १८ लाख पुग्नेछ । आठ लाख डोज खोप बेइजिङबाट नेपालले आपूर्ति गर्नुपर्नेछ भने दुई लाख डोज तिब्बत सरकारका तर्फबाट उपलब्ध हुनेछ । तिब्बत सरकारकै व्यवस्थापनमा छिट्टै नै कुन्मिङबाट हिमालय एयरलाइन्सले खोपको आपूर्ति गर्नेछ । चीन सरकारको वैदेशिक सहायतासम्बन्धी निकाय चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीले बेइजिङस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई यस्तो जानकारी गराएको हो ।
राष्ट्रपति सीले थप १० लाख डो खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका थिए । यसअघि चीनले ८ लाख डोज खोप नेपाललाई सहयोग गरेको थियो । हालसम्म दक्षिण एशियामा बाङ्ग्लादेश र श्रीलंकासहितका देशलाई उपलब्ध गराइएकोभन्दा बढी कोभिड–१९ खोप चीनले नेपाललाई अनुदानमा दिएको हो । बेइजिङस्थित नेपाली राजदूतावासका उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार चीनले दिने प्रतिबद्धता जनाएको भेरो सेल खोप आगामी सोमबारसम्ममा नेपाल आइपुग्नेछ ।
उनले भने– चीनले उपलब्ध गराउने १० लाख मात्रा खोपमध्ये आठ लाख मात्रा बेइजिङमा तयार अवस्थामा राखिएको छ । त्यसलाई यही मे महिनाको अन्त्यसम्म वा जुनको सुरुमा नै काठमाण्डौँ पठाउने भन्ने कुरा छ । काठमाडौंसम्म ल्याउने जिम्मेवारी भने नेपाल सरकारको हुनेछ । त्यसबाहेक थप दुई लाख मात्रा खोप तिब्बत सरकारले उपलब्ध गराउन लागेको बताइएको छ ।
त्यहाँबाट प्राप्त हुने खोप कुन्मिङबाट आगामी सातासम्ममा काठमाडौं पठाइने र त्यसको व्यवस्था तिब्बत सरकारले मिलाउने नियोग उपप्रमुख लम्सालले बताएका छन् । भारतमा कोरोनाभाइरसको महामारी बढेका कारण कोरोनाभाइरसविरुद्धको कोभिशील्ड खोप निर्यातमा नयाँ दिल्लीले कडाइ गरेपछि नेपालले अरू खोप भित्र्याउनका लागि कूटनीतिक प्रयासहरू अघि बढाएको छ ।


