देउवाद्वारा नेपाली जनतालाई शुभकामना

देउवाद्वारा नेपाली जनतालाई शुभकामना तरुण खबर १५ जेष्ठ २०७८, शनिबार १२:०२
देउवाद्वारा नेपाली जनतालाई शुभकामना

सरकारकै कारण मुलुक जटिल मोडमा पुगेको दावी
काठमडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसका सन्दर्भमा शुभकामना दिनु भएको छ । शनिबार नेपालमा गणतन्त्र स्थापना भएको १३ वर्ष पूरा भएको छ । जनआन्दोलन २०६२–६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको छ ।

त्यसपछिको संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा ग¥यो भने वर्तमान राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो राष्ट्राध्यक्ष हुनुहुन्छ । यसैबीच गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

नेपाली काँग्रेसका सभापति देउवाले जारी गरेको विज्ञप्तिमा भने कोभिड—१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ । तर जनताको जीवनप्रति सरकार सर्वथा उदासिन र संवेदनहीन देखिएको छ सभापति देउवाको विज्ञप्तिमा उल्लेख छ । यस स्थितिमा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका लागि देउवाले आग्रह गर्नु भएको छ । सो अवसरमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सबै वीर शहिदप्रति उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली गर्नु भएको छ ।

उहाँको विज्ञप्तिमा अगाडी भनिएको छ– नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२÷६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको गर्दै सभापति देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

विज्ञप्तिमा भनिएको छ– कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ । लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समिक्षाको बिषय बन्दछ र बन्नु पर्दछ । देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नु परेको छ ।