तरुण खबर
१६ जेष्ठ २०७८, आईतवार १०:४२
२९, मेमा भारतमा २० लाख ८० हजार बढीको परीक्षण, १ लाख ७४ हजार बढी संक्रमित
काठमाडौं । भारतको राजधानी दिल्लीमा सात जून बिहान पाँच बजेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ । दिल्लीको मूख्यमन्त्री अरविन्द केजरीवालले यो निर्णय लिएका हुन् । यद्यपी निर्माण उद्योग सञ्चालन गर्न अनुमति दिएको छ । दिल्ली सरकारले कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि लकडाउन पनि खुकुलो बनाउँदै लगेको हो ।
वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२९, मे) मा २० लाख ८० हजार ४८ जनाको नमुना परीक्षण गर्दा १ लाख ७४ हजार ४१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २८, मेमा २० लाख ७० हजार ५०८ जनाको नमुना परीक्षण गर्दा १ लाख ७१ हजार ७२६ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२९, मे) मा कोरोना भाइरस संक्रमणबाट ३ हजार ६१४ जनाको निधन भएको छ । २८, मेमा कोरोना संक्रमणबाट ३ हजार ५६३ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार जेठ १६ गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ७८ लाख ९३ हजार ४७२ जना छन् । भारतमा २ करोड ५४ लाख ४६ हजार ८२० जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख २० हजार ६५४ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । जेठ १६ गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख २५ हजार ९९८ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।


