तरुण खबर
१६ जेष्ठ २०७८, आईतवार १०:५१
काठमाडौं । ९ करोड ८१ लाख ३३ हजार ५३ जनसंख्या भएको भियतनाममा तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने अधिकारीहरुले बताएका छन् । भियतनामा जेठ १६ गते आइतबार बिहानसम्ममा ६ हजार ९०८ जना मात्र कोरोना संक्रमित छन् भने संक्रमणबाट अहिलेसम्म ४७ जनाको मात्र ज्यान गएको छ । भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले शनिबार नयाँ म्युटेशन निकै खतरनाक रहेको बताएका छन् ।
अहिलेसम्म कोरोना भाइरसका हजारौँ म्युटेशन भेरियन्ट पत्ता लागेका छन् । तर केही भेरियन्टहरु संक्रामक देखिएका छन् । स्वास्थ्य मन्त्री थान लङ्गले भनेका छन्, ‘भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ र यो भारत र बेलायतमा भेटिएको भेरियन्टको म्युटेशनबाट बनेको हो । ’ भियतनाममा पछिल्ला केही हप्तादेखि संक्रमण बढ्दो क्रममा छ । नयाँ हाइब्रेड भेरियन्ट देखिएपछि चिन्ता थपिएको छ । भियतनाममा कोरोना सक्रिय संक्रमितको संख्या ३,९६५ मात्र छ । भियतनामले अहिलेसम्म ४३ लाख ३७ हजार ६८९ जनाको नमुना परीक्षण गरिसकेको छ ।


