उज्वल थापाको निधनमा देउवाद्वारा श्रद्धाञ्जली

उज्वल थापाको निधनमा देउवाद्वारा श्रद्धाञ्जली तरुण खबर १९ जेष्ठ २०७८, बुधबार ११:०८
उज्वल थापाको निधनमा देउवाद्वारा श्रद्धाञ्जली

काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक नेता उज्वल थापाको हिजो मंगलबार निधन भएको छ । वैकल्पिक राजनीति र युवा नेतृत्वका लागि अभियान चलाएका ४४ वर्षीय थापा कोरोनाभाइरस संक्रमित भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थिए । उनले विसं २०६९ विवेकशील नेपाली भन्ने समूह बनाएका थिए ।

कहिल्यै लाभको पदमा नपुगेका उनी बिरामी हुँदादेखि मृत्युपश्चात् समेत नेपालीहरूले देखाएको सम्मान र सद्भावले थापा एक जना लोकप्रिय नेताको रूपमा दरिन पुगेका छन् । कोरोनाभाइरस संक्रमित भएर गम्भीर अवस्थामा अस्पताल भर्ना भएपछि उनका लागि देश र विदेशमा रहेका नेपालीले उठाएको ठूलो राशिको सहयोगका साथै व्यक्त गरेका सद्भाव र शीघ्र स्वास्थ्यलाभको कामनाको सन्देश पनि उनको लोकप्रियता मापनको एउटा गतिलो उदाहरण बनेको छ ।

नेपालको एक चर्चित स्कूल बुढानीलकण्ठबाट कक्षा १२ (ओ लेभल) सम्म अध्ययन गरेका थापा त्यसपछि छात्रवृत्तिमा खगोल तथा भौतिक विज्ञान (एस्ट्रोफिजिक्स) अध्ययनका लागि अमेरिका गएका थिए । तर उनी खगोल तथा भौतिकशास्त्री होइन त्यो पढाइ छाडेर वेब डिजाइनर बनेर नेपाल फर्किएका थिए ।

अमेरिकाबाट नेपाल फर्किएका थापाले स्वदेशमा उद्यमशीलता र समाजसेवा दुवैमा हात हालेका थिए । सूचना प्रविधिसम्बन्धी कम्पनी खोलेर उद्यमी बन्ने पाइला चालेका उनले कफी खेतीमा समेत लगानी गरेका थिए । उनको निधनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिनु भएको छ ।