तरुण खबर
१९ जेष्ठ २०७८, बुधबार ११:१६
गठबन्धनमा ः नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र एमालेको नेपाल समूह
काठमाडौं । नेपाली काँग्रेस सहितको गठबन्धन र एमालेको एक्लैको हैसियत लगभग बराबरजस्तो देखिएको छ । राष्ट्रिय सभाको चुनावले दलहरुको हैसियत परीक्षण हुँदा दलहरुको अबस्था यस्तो देखिएको हो । भारतको साथ पाएका केपी शर्मा ओलीलाई निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी र सेनाको साथ रहेको बताइन्छ ।
यति शक्तिशाली प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक हैसियत बढाउँदै लगेको प्रष्टै देखिएको छ । सबै राजनीतिक दल एकतिर हुँदा पनि एमाले एक्लै बलबान हुनुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको मात्र भूमिका रहेको एमालेका एक नेताले बताए । एमालेका १२० जना सांसद छन् भने नेपाली काँग्रेसका ६१ जना मात्र छन् । त्यस्तै माओवादी केन्द्रका ४९ जना छन् । जसपा एउटै पार्टी रहन सकेन । जसपाका उपेन्द्र यादवसँग ११ जना सांसद छन् भने महन्थ ठाकुरसँग जेलबाट निश्कदै गरेका रेशम चौधरी सहित २१ जना सांसद रहेका छन् । यद्यपी संसद विघटन भैसकेको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा सोमबार दृगनारायण पाण्डे विजयी भएका थिए । नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउँदै नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (उपेन्द्र पक्ष) को समर्थनमा उनी विजयी भएका थिए । पाण्डेको विजयले सत्ता पक्षले आपूmहरु एक्लिएको महशुस गरेको भएपनि राजनीतिक रुपमा एमाले नै विजय भएको बताएको छ । यसअघि एमालेका वागमती प्रदेशका उम्मेदवार रामबहादर थापा पराजित भएका थिए ।
लुम्बिनी प्रदेशमा नेपाली काँग्रेस सहितको गठबन्धनका पाण्डेले ४ हजार १४० मतभार प्राप्त गरेका थिए भने एमालेका उम्मेदवारले ३ हजार ५९४ मतभार प्राप्त गरेका थिए । स्थानीय तहमा नेकपा एमालेका चन्द्रबहादुर खड्काले ९४ र नेपाली कांग्रेसका उम्मेदवार पाण्डेले ११८ मत प्राप्त गरेका थिए । यस्तै, प्रदेश सभाबाट खड्काले ४० र पाण्डेले ४२ मत प्राप्त गरेका थिए । प्रदेश सभाका ८३ जना सांसद तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी तीन सय जनाले मतदान गरेका थिए ।
समग्रमा विपक्षीको अवस्था ४ हजार र सत्तापक्षको ३ हजार ८ सयको हाराहारीमा मतभार देखिएको थियो । एमालेको करीब २ सय मतभार गायव भएको थियो । यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेतामात्रै बैठकमा सहभागी थिए । यसअघि बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यबाट निष्कासित गर्दै उपमहासचिव घनश्याम भुसाललगायत थप १२ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
यस्तै, बैठकमा प्रतिनिधिसभा विघटनपछिका राजनीतिक घटनाक्रम, बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप–निर्वाचको बिषयमा पनि समीक्षा भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टी एकताका लागि यसअघि गठित कार्यदल अहिले अस्तित्वमा नरहेको तर आवश्यक परे त्यसलाई पुर्नगठन गर्न सकिने प्रवक्ता ज्ञवालीले जानकारी दिए । उक्त कार्यदलका संयोजक भीम रावल पार्टी सदस्यबाट निष्कासनमा परेका छन् भने केहीलाई स्पष्टीकरण सोधिएको छ ।
अध्यक्ष केपी शर्मा ओली र नेपालपक्षका दोस्रो तहका नेताहरुबीच सोमबार साँझ भएको वार्तामा एकताका लागि थप पहल गर्ने समझदारी बनेपछि १२ जना नेतामाथिको कारबाही तत्काललाई रोकिएको छ ।


