सूर्तिजन्य पदार्थमा कर बढ्नु जनस्वास्थ्यका दृष्टिले सकारात्मक

सूर्तिजन्य पदार्थमा कर बढ्नु जनस्वास्थ्यका दृष्टिले सकारात्मक तरुण खबर २० जेष्ठ २०७८, बिहीबार ११:४२
सूर्तिजन्य पदार्थमा कर बढ्नु जनस्वास्थ्यका दृष्टिले सकारात्मक

कालिका महत
हालै सरकारले सार्वजनिक गरेको बजेटले सूर्तिजन्य पदार्थमा लाग्ने कर बढाएको छ । अर्थ मन्त्री बिष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा सूर्तिजन्य पदार्थमा गत बर्षको भन्दा करिव २५ प्रतिशतले कर बढाउने घोषणा गरेका हुन् । स्वास्थ्यका दृष्टिले हानिकारक मानिएको सूर्तिजन्य पदार्थमा कर बढ्नु जनहितका लागि फाइदाजनक हो भन्ने लाग्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि नेपाललाई सूर्तिजन्य पदार्थमा ७० प्रतिशतसम्म कर बढाउन सुझाव दिँदै आएको थियो ।

नसर्ने रोगको संक्रमण कम गर्न सूर्तिजन्य पदार्थको सेवन हटाउनु पर्ने, मध्यपान त्याग्नु पर्ने र जीवनशैली सुधार्नु पर्नेजस्ता विभिन्न सुझाव विज्ञहरूले दिँदै आइरहेका थिए र छन् पनि । विगत वर्षहरुमा सूर्ति उद्योगीहरुको प्रभावमा परेर अर्थ मन्त्रालयका अधिकारी र अर्थ मन्त्रीले सूर्तिजन्य पदार्थमा सकभर कर बढाउने नचाहने र बढाइहाले पनि बढाएजस्तो मात्रै गर्ने गरेका थिए । दैनिक उपभोग्य वस्तुमा लाग्ने कर घटाएर सूर्तिजन्य पदार्थमा बढाउनु न्यायोचित हुन्छ ।  सूर्तिजन्य पदार्थमा दोब्बर कर बढाएर महंगो बनाइदिएको अवस्थामा यसको उपभोग कम हुने विज्ञहरुले बताएका छन् ।

मूल्य बढेपछि चुरोट, खैनी, बिडी खानेको संख्यामा पूर्ण रुपमा नघटे पनि दैनिक उपभोग गर्नेमा केही कमी आउने विज्ञहरुको दावी छ । सूर्तिजन्य पदार्थमा मूल्य वृद्धिको असर सबैभन्दा बढी युवायुवतीमा देखिने गरेको छ । यसरी सूर्तिजन्य पदार्थमा कर बढाएपछि त्यसबाट उठ्ने कर बापतको रकम नसर्ने रोगको उपचार र सचेतनामा खर्च गर्न सकिन्छ । त्यसैले सूर्तिजन्य पदार्थको उपभोग कम गर्न सरकारले अपनाउने उपायहरुमध्ये कर बढाउनु पनि एक हो । मुटु रोग, मिर्गौला रोग, क्यान्सर, मधुमेहजस्ता कयौं नसर्ने रोगको प्रमुख कारकहरूमध्ये धुम्रपान, मद्यपान र जङ्फुड हो ।  नियमित व्यायामको अभाव, अव्यवस्थित खानपान र मोटोपन पनि यसको अर्को कारण हो ।

सरकारले धुम्रपान नियन्त्रणका लागि कानुनी व्यवस्था गरेपनि मद्यपान नियन्त्रणका लागि कुनै दीर्घकालीन योजना बनाएको छैन पछिल्ला दिनमा देशका कुनाकुनामा मदिराको विज्ञापनको होडिङ बोर्ड टाँगिएका छन् । पूर्वको धरानदेखि पश्चिमको दार्चुलासम्म बियर, भोट्का, रक्सी र वाइनका विज्ञापन छ्यापछ्याप्ती देखिन्छन् । यतिसम्म कि मन्दिरभित्रसमेत रुस्लान भोट्काको विज्ञापन राखिएका छन् । उदाहरणका लागि सिन्धुपाल्चोक जिल्लाको हुलम्बु गाउँको पाल्चोक भगवतीको मन्दिर परिसरभित्रै भोड्का र तोङबाको विज्ञापन गरिएको छ ।

यसले नयाँ पुस्तालाई नसर्ने रोगको रोकथामभन्दा यसलाई बढावा दिइरहको छ । ध्म्रपान गर्नेको संख्या घटेको देखिए पनि समाजमा अहिले मदिराका अम्मलीको संख्या ह्वात्तै बढेको छ । पछिल्ला दिनमा मदिराका पारखी महिलाहरु देखिएका छन् । सहरमा आयोजना हुने विभिन्न समारोहहरूमा महिलाले पनि वाइन वा बियर पिउनै पर्ने, नपिए सभ्य नभइने जस्तो कुरामा विश्वास गर्न थालिएको छ । यस किसिमको संस्कारलाई बढावा दिनु कसैका लागि पनि हितकर छैन । सरुवा रोगको तुलनामा नसर्ने रोगको उपचार हजारौं गुणा महँगो हुने भएकाले हाम्रोजस्तो आर्थिक अवस्था कमजोर भएको देशले नसर्ने रोगको संक्रमण रोक्न प्रभावकारी कदम ल्याउन ढिलो गर्नुहुँदैनथ्यो ।

तर ६÷६ महिनामा फेरिने मन्त्री र कर्मचारी प्रशासनले यस विषयमा कुरा गर्ने तर ठोस काम गरेर देखाउन नसक्ने भएकाले युवा अवस्थामै सयौं युवायुवती हृदयाघातका कारण ज्यान गुमाइरहेका छन् । धुम्रपानबाट मात्र नेपालमा वर्षेनी १५ हजार मान्छेको ज्यान गइरहेको छ ।
विज्ञहरूकाअनुसार धुम्रपान, मद्यपान र जङ्फुड मात्र नियन्त्रण गर्न सक्ने हो भने यी रोगीको संख्या आधाले घट्ने अवस्था देखिन्छ । क्यान्सर रोग विज्ञ डा.सुदीप श्रेष्ठ भन्छन्– धूमपान र मद्यपान नियन्त्रण गर्न सक्यौं भने मात्रै पनि हामीले आधा बिरामी कम गर्न सक्छौ ।

नेपालमा वर्सेनी फोक्सोको क्यान्सरका बिरामी बढ्नुको कारण ९० प्रतिशत धुम्रपानको सेवन भएको फोक्सो क्यान्सर विशेषज्ञ डा. अम्बुज कर्ण बतउँछन् । नेपालमा वर्षेनी तीन हजारभन्दा बढीको मिर्गौला फेल हुने गरेको अनुमान छ । मिर्गौला फेल हुनमा पनि धूमपान, मद्यपान र अव्यवस्थित जीवनशैली जिम्मेवार रहेको चिकित्सकहरू बताउँछन् । अव्यवस्थित खानपान, व्यायामको कमी, धूमपान र मद्यपानको सेवन नै नसर्ने रोगको कारण भएपनि त्यसलाई न सरकारले, न जनताले आत्मसात् गरेका छन् ।

यति कुरालाई मात्रै आत्मसात् गर्ने हो भने केही वर्षभित्रै यो समस्याले भयावह अवस्था सिर्जना नगर्ने प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मी बताउँछन् । उनी भन्छन्, ‘हिजोआज पुरुषभन्दा महिला मदिरा प्रेमी हुँदै गएका छन् । वाइन र बियरको ग्लास लिनु त फेसन जस्तै भएको छ । यसले नसर्ने रोगको संक्रमण दर कहाँ पु-याउला चिन्ताको विषय छ । ’ नसर्ने रोगको जोखिममा परेका नेपालीहरुलाई सबैभन्दा बढी दमको रोगले सताउने गरेको अनुसन्धानले बताएको छ । उक्त अनुसन्धानले मधुमेह र मिर्गौला सम्बन्धी समस्या भएकाहरुको संख्याले दमका बिरामीहरुको संख्यालाई पछ्याउने क्रममा रहेको दावी गरेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको नसर्ने दीर्घ रोग सम्वन्धी राष्ट्रिय सर्भेक्षण प्रतिवेदनले ११.७ प्रतिशत नेपालीहरुलाई दमको समस्याभएको बताएको छ । सोहीप्रतिवेदनले ८.६ प्रतिशतलाई मधुमेह र ६ प्रतिशतमा दीर्घकालिन मिर्गौला रोग भएको उल्लेख गरेको छ । अनुसन्धान प्रतिवेदनले मुटु रोगबाट पीडित हुनेको संख्या भने २.९ प्रतिशतमात्रै भएको जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका बरिष्ठ अनुसन्धानअधिकृत डा.मेघनाथ धिमालका अनुसार सो अनुसन्धानले दुई बर्ष लगाएर दुई चरणमा सम्पन्न गरिएको थियो ।

नेपालका ७२ जिल्लाका ४ सय क्लस्टरमा गई गरिएको यो अनुसन्धानले २० बर्ष र सो भन्दामाथिका १३ हजार २ सय जनामा गरिएको थियो । ‘हामीले पहिलो चरणमा छानिएका सहभागीसँग अन्तरवार्ता लियौँ, दोस्रो चरणमा रगत र पिसावको जाँचका साथै मुटु र छातीको जाँचगरियो । पहिलो चरणको तथ्यांक सकिएको तीन महिनापछि दीर्घकालिन मिगौला रोगी पत्तालगाउन पुनः ती व्यक्तिहरुको अल्बुमिन र क्रियटिनिन अनुपात ३० र सो भन्दामाथि छ भने उनीहरुको रगत र पिसावको नमुना संकलन गरी जाँचगरियो,’ डा. धिमालले जानकारी दिए।

देशव्यापी रुपमा गरिएको उक्त अनुसन्धानले धेरै जसोमा व्यावहारिक र जैबिक जोखिमका तत्वहरुजस्तै सुर्ती सेवन, मादक पदार्थको सेवन, दमरोगको जोखिम, रगतमा चिनीको उच्च मात्रा, उच्च रक्तचाप महिलामाभन्दा पुरुषमा उच्च रक्तचाप भएको देखाएको छ । डा.धिमालले अनुसन्धानबाट नेपालमा नसर्ने दीर्घरोगहरुको भार बढी भएको तथा बढ्दो जोखिमतत्वहरुले यसको भार बढाईरहेको देखिएको बताए । उनले यसका लागि उचित स्वास्थ्य प्रबर्धन र दीर्घकालिन रोगहरुको रोकथाम सम्बन्धि कार्यक्रम आवश्यक भएको समेत बताएका छन् ।

(कालिका महत पच्चीस वर्षदेखि सक्रिय पत्रकारितामा संलग्न छन्)