तरुण खबर
२० जेष्ठ २०७८, बिहीबार ११:४५
नेपालमा हालसम्म संक्रमणबाट ७ हजार ५५५ जनाको मृत्यु
काठमाडौं । कोरोनाभाइरस नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लागु गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिएको छ । जेठ २० गतेसम्ममा नेपालमा कारोनाभाइरस संक्रमितको कुल संख्या ५ लाख ७१ हजार १११ जना छन् । २ करोड ९६ लाख १५ हजार १५९ जनसंख्या रहेको नेपालमा कुल संक्रमितमध्ये ७ हजार ५५५ जनाको निधन भैसकेको छ । निषेधाज्ञालाई केही खुकुलो बनाएर थप गरिएको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले जानकारी दिएका छन् ।
यसअघि खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरहरू बन्द गर्ने गरी निषेधाज्ञा लगाइएकोमा अब भने ती पसलहरू बिहान ९ बजेसम्म खुल्नेछन् । कुल संक्रमितमध्ये ४ लाख ६१ हजार ५६३ जनाले संक्रमणबाट मुक्ति पाएका छन् । जेठ २० गते बिहान ७ बजेसम्ममा १ लाख १ हजार ९९३ जना सक्रिय संक्रमित छन् । हिजो बुधवार बसेको उपत्यकाका तीन जिल्लाका प्रजिअहरूको बैठकले उक्त निर्णय गरेको भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले बताएका छन् ।
भट्टराईले भने– अब निषेधाज्ञा ३१ गतेसम्मका लागि पुगेको छ । तर पहिलेका केही नियम परिवर्तन भएका छन् । खाद्यान्न र किराना पसलहरू बिहान ९ बजेसम्म खुल्ने र विकास निर्माणका सामग्रीहरू राती ओसार्न पाइने र दिउँसो काम गर्न पाइनेछ । उनका अनुसार बुधबारै तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर त्यसबारे जानकारी दिएका थिए । यसअघि संक्रमण बढ्न थालेपछि वैशाख १६ गते एक साताका लागि जारी गरिएको निषेधाज्ञाको अवधि पटकपटक थप गर्दै जेठ २० गतेसम्म कायम गरिएको थियो ।
करीब एक महिनादेखि निषेधाज्ञा गरिएको भए पनि पूर्ण प्रभावकारी हुन नसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको गुनासोबीच कोभिड–१९ संकट व्यवस्थापनसम्बन्धी अध्यादेशले सजाय र जरिबाना तोकेको थियो । उक्त अध्यादेशलाई आधार बनाएर जिल्ला प्रशासनले गत हप्तादेखि निषेधाज्ञा निकै कडा बनाएको थियो । पछिल्लो हप्ता संक्रमित हुनेहरूको संख्यामा केही कमी देखिएकाले निषेधाज्ञा पनि केही खुकुलो पारिएको अधिकारीहरूको भनाइ छ । तर अध्यादेशमा आधारित रहेर कुनै पनि बेला आवश्यकता अनुसार कदम चाल्न सकिने प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन् ।


