चीनको दोश्रो खोपले पनि डब्ल्यूएचओबाट स्वीकृति पायो

चीनको दोश्रो खोपले पनि डब्ल्यूएचओबाट स्वीकृति पायो तरुण खबर २० जेष्ठ २०७८, बिहीबार ११:५०
चीनको दोश्रो खोपले पनि डब्ल्यूएचओबाट स्वीकृति पायो

काठमाडौं । विश्व स्वास्थ्य संगठनले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । डब्ल्यूएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो । सिनोभ्याकका अनुसार उसले स्वदेश र विदेश गरी मे महिनाको अन्त्यसम्म ६० करोड मात्रा आपूर्ति गरिसकेको छ, जसमध्ये ४३ करोड मात्रा खोप लगाइसकिएको छ । सिनोभ्याक खोपको एउटा मुख्य फाइदा भनेको यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा सामान्य रेफ्रिजरेटरमा भण्डार गर्न सकिन्छ ।

अर्थात् न्यून तापक्रममा ठूलो परिमाणमा खोप भण्डार गर्ने क्षमता नभएका विकासोन्मुख देशहरूका निम्ति यो सहज हुनेछ । डब्ल्यूएचओको मान्यतापश्चात् गरिब देशहरूलाई खोप वितरण गर्ने कोभ्याक्स कार्यक्रमले यो खोपलाई पनि प्रयोग गर्ने बाटो खुलेको छ । भारतले खोप निर्यातमा प्रतिबन्ध लगाइदिएपछि कोभ्याक्सले गरिब देशहरूलाई आपूर्ति गर्न सकिरहेको थिएन । गत महिना डब्ल्यूएचओले चीनको सिनोफार्म खोपलाई पनि अनुमति दिएको थियो ।

सिनोभ्याकको यो खोप चीनका अतिरिक्त चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालिसकिएको थियो । अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्ने ढोका खुलेको छ । अठार वर्ष माथिकालाई दिन मिल्ने सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ । यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनु पर्छ ।

आपत्कालीन प्रयोग अनुमतिको अर्थ उक्त खोपले ’सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकोडब्ल्यूएचओले जनाएको छ । विश्वका प्रमुख स्वास्थ्य तथा वित्तीय निकायहरूले कोभिड–१९ महामारीको अन्त्य गर्न सघाउन ५० अर्ब डलरको लगानीको आह्वान गरेका छन् । एउटा संयुक्त वक्तव्य जारी गर्दै विश्व स्वास्थ्य सङ्गठन, विश्व व्यापार सङ्गठन, विश्व ब्याङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले संसार खतरनाक बिन्दुमा पुगेको जनाएका छन् ।

उनीहरूले खोप उत्पादन, अक्सिजन आपूर्ति, तथा कोभिड–१९ का उपचार तथा निदानमा प्रयोग हुने सामग्रीहरू र तिनको यथोचित वितरणका निम्ति स्रोतको खाँचो औँल्याएका छन् ।  उनीहरूले धनी देशहरूलाई तत्काल विकासोन्मुख देशहरूमा खोप दिन पनि आह्वान गरेका छन् । डब्लुएचओका प्रमुख टेड्रोस एड्हानम गेहब्रेयससले भनेका छन्– हामीसँग यो महामारी चाँडै अन्त्य गरेर असङ्ख्य ज्यान र जनजीविका जोगाउने उपाय छन् । तर त्यसो गर्न हामीमा इच्छाशक्तिको खाँचो छ ।

अध्ययनहरूका अनुसार सिनोभ्याकको खोपले खोप लगाएकाहरूमध्ये आधाभन्दा धेरै मानिसमा लक्षणसहितको बिमारी रोक्ने अनि शतप्रतिशत मानिसमा गम्भीर बिमारी र अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने पाइएको उसले जनाएको छ ।