तरुण खबर
२१ जेष्ठ २०७८, शुक्रबार ११:१२
विद्युतिकरणका लागि ६० लाख र खानेपानीका लागि ३० बजेट
काठमाडौं । वाग्मती प्रदेशको आर्थिक सहयोगमा ३ हजार १८ मिटर उचाइमा रहेको बेथाञ्चोक–३ को नारायणथानमा १० हजार लिटर क्षमताको खानेपानी ट्यांकी बन्ने भएको छ । शिकारी डाँडा, देउराली डाँडा र नारायणथानमा गरी तीन वटा खानेपानीको ट्यांकी बनाइने छ । लिफ्टिङ प्रविधिबाट खानेपानी लगिने गाउँपालिकाका प्राविधिक मुक्ति सापकोटाले बताए । रतन खोलादेखि शिकारी डाँडासम्म करीब २२ सय मिटर छ भने शिकारी डाँडाबाट देउराली भन्ज्याङ २ सय मिटर छ । देउराली डाँडाबाट नारायणथान करीब ४ किलोमिटर भएको बेथाञ्चोक गाउँपालिकाका प्राविधिक मुक्ति सापकोटाले जानकारी दिए ।
शिकारी डाँडाको खानेपानी ट्यांकी ५० हजार लिटर र देउराली डाँडामा ३० हजार लिटरको ट्यांकी बन्ने भएको छ । रतन खोलाको मूहानबाट ३ हजार १८ मिटर उचाइ भएको नारायणथानमा खानेपानी ल्याउन लागिएको हो । अब करीब एक हप्ता–पन्ध्र दिनभित्र नारायणथान मन्दिर परिसरमा १० हजार लिटरको खानेपानी ट्यांकी निर्माण सम्पन्न हुने भएको छ । असार १० गते भित्र नारायणथानको खानेपानी ट्यांकी निर्माण सम्पन्न हुन्छ उपभोक्ता समितिका सदस्य उमेश दाहालले भने । करीब ३० लाख रुपैयाँको लागतमा बन्न लागेको खानेपानी ट्यांकी निर्माणका लागि वागमती प्रदेशका सांसद बसुन्धरा हुमागाईको सक्रियतामा उक्त रकम निकासा भएको हो ।
पटक पटक नारायणथान पुगेका हुमागाईले खानेपानीको अभाव महशुस गरेकाले उनले सक्रियता देखाएका हुन् । यो वर्ष बजेटबाट तीन वटा खानेपानी ट्यांकी निर्माण, पाइप खरिदको हुनेछ भने बनेपा शाखाले ६० लाख रुपैयाँ लागतमा विद्युतिकरणको काम गरिरहेको छ । नारायणथानमा विद्युतीकरण हुनुमा बेथाञ्चोक–३ गोरखाली गाउँका इञ्जिनियर मेघ ढकाल र विद्युत प्राधिकरण केन्द्रीय कार्यालयका निर्देशक अनिरुद्ध यादव, बनेपा शाखाका दिपक लामिछाने, समिक्षा पौडेल र अशोक लोहनी इञ्जिनियरहरुको महत्वपूर्ण भूमिका छ, इञ्जिनियर मेघ ढकाल अहिले पाँचखाल शाखका प्रमुख छन् ।
उनीहरुकै सक्रियतामा खोर्थापेदेखि नारायणथानमा विद्युतिकरण गर्दा ६५ वटा विजुलीको पोल गाड्ने तयारी भएको हो । खोर्थापेदेखि देउराली डाँडासम्म हाइटेन्सन तानिने छ भने देउरालीमै ५० केभीको ट्रान्समिटर राखिने बताइएको छ । देउरालीदेखि नारायणथानसम्म मोटो कालो तार टागिने बताइएको छ । ३० लाख रुपैयाँमध्येबाट तीन वटा पानी संकल गर्ने ट्यांकी निर्माण, पाइप खरिद र सरकारलाई तिर्नु पर्ने भ्याट कटाउँदा रकम सकिने हुँदा आगामी वर्षको बजेटबाट पानी तान्ने मोटरलगायतको सामान किनिने बताइन्छ । कोरोना महामारीको दोस्रो लहर शुरु हुनु अगाडी नारायणथानमा दैनिक पाँच–छ सय धार्मिक तिर्थ यात्री र आन्तरिक पर्यटकहरु जाने गरेका थिए ।
उपभोक्ता समितिमा को को ?
राजाराम दुलालको अध्यक्षतामा गठित उपभोक्ता समितिको सचिवमा सरोज आचार्य, कोषाध्यक्षमा निर्मला सापकोटा र सदस्यहरूमा क्रमशः हिरामणी तिमल्सिना, उमेश दाहाल, भवानी आचार्य, सानुकान्छि शंकर, अजय तिमल्सिना र गोविन्द घिमिरे रहेका छन् । उक्त विनियोजित रकमको आयोजना सम्पन्न गर्नको लागि गाउँपालिकाको २०७७ कात्तिक २८ गते जारी भएको सूचना अनुसार त्यही वर्षको मंसिर ८ गते स्थानीय उपभोक्ता तथा सरोकारवालाहरूको उपस्थितिमा ट्यांकी निर्माण गर्नको लागि पूर्ण अधिकार सहितको उपभोक्ता समिति गठन गरिएको थियो । तर ट्यांकी बनाउन बनाइएको उपभोक्ता समितिसँग सम्झौता २०७८ साल जेठ महिनाको पहिलो सातामा भएको थियो । केही स्थानीय ब्यक्तिहरूले उक्त आयोजना ठेक्का दिनका लागि प्रयास गरेका थिए । स्थानीय युवाहरूले त्यसको विरोध गर्दै आप्mनै गाउँ ठाउँमा रोजगार सिर्जना हुने र बन्ने संरचनाहरूको गुणस्तरीय नहुने भएकाले उपभोक्ता समितिमार्फत निर्माण काम गर्नु पर्ने बताएका थिए ।
खानेपानीको मुहान छनोट
बेथाञ्चोक गाउँपालिकाको वडा नम्बर २ को रतन खोलाको मुहान छनौट गरिएको प्राविधिक मुक्ति सापकोटाले बताए । यो मुहानबाट करीब ८० मिटर होचो स्थानमा पर्ने वेथानचोक–३ को शिकारी डाँडामा बन्ने भनिएको ५० हजार लिटर क्षमताको पानी संकलन ट्यांकी निर्माण गर्ने योजना रहेको छ । उक्त स्थानबाट देउराली डाँडासम्म लिफ्टिङ गरि ३० हजार लिटर क्षमताको खानेपानी संकलन ट्यांकीमा पानी खसाल्ने योजना बनाइएको प्राविधिक सापकोटाले बताए । देउराली डाँडाबाट २ सय मिटरको उचाइमा रहेको वेथाञ्चोक नारायणथान मन्दिरमा लिफ्टिङ प्रविधिबाट खानेपानी लगिने उपभोक्ता समितिका सचिव सरोज आचार्यले बताए ।
खानेपानी आयोजनाको मुहान एकिन गर्नको लागि प्राविधिक शाखाका प्राविधिक मुक्ति सापकोटा र उपभोक्ता समितिका पदाधिकारीहरूले पटक–पटक थुप्रै मुहानको अध्यायन तथा निरीक्षण गरी प्रारम्भिक सर्वेक्षण सम्पन्न गरेका थिए । निरीक्षणको क्रममा खानिखोला, बेथाञ्चोक–३,२ र वेथाञ्चोक–१ को विभिन्न स्थानहरूको अवलोकन गरिएको उपभोक्त समितिका अध्यक्ष राजाराम दुलालले बताए । सबैभन्दा उपयुक्त मुहान खानिखोलामा भए तापनि भौगोलिक विकटताको कारणले योजनाको निरन्तरतामा जटिल देखिएको दुलालले जानकारी दिए ।
उपभोक्ता समितिसहितका युवाहरु काममा
उपभोक्ता समितिका पदाधिकारीहरू र स्थानीय युवाहरू गरी १५–१६ जनाको समूह गेल्डुङ बजारबाट वेथाञ्चोक नारायणथान जाने मोटरबाटोको अन्तिम बिन्दु देउराली डाँडा बनेको टहरा उनीहरु बसेका छन् । उक्त स्थान समुन्द्र सतहदेखि करिब २७०० मिटरको उचाइमा घना जङ्गलको बिचमा छ । खानेपानी लगायत अन्य बन्दो बस्तिको सामाग्रिहरू गेल्डुङ बजारबाट ढुवानी गरिएको सचिव आचार्यले बताए । स्थानीय युवाहरूले बिहान ६ बजेदेखि उक्त स्थानबाट बेथानचोक नारायणथानसम्म करीब डेढ घण्टाको उकालो सहितको दुरीमा निर्माण सामाग्रिहरू वालुवा, गिट्टि र सिमेन्ट ढुवानी गरिरहेका छन् ।
दैनिक एक जवानले करिब ५० देखि ६० किलो वजन भएको निर्माण सामाग्री एक जनाले चार भारिसम्म ढुवानी गरिरहेका छन् । मन्दिर दर्शनको लागि पैदल यात्रा नै कठिन भएको स्थानमा दैनिक चार भारी करीब २ सय ४० केजी ढुवानी गर्नु कम चुनौतीको विषय होइन । यसरी काम गर्नेहरुमा राजाराम दुलाल, सरोज आचार्य, भोला आचार्य, गोविन्द घिमिरे, कमल घिमिरे, उमेश दाहाल, सुशन शंकर, सरोज तिमल्सिना, सविन तिमल्सिना, निराजन तिमल्सिना, माधव तिमल्सिना, गणेश तिमल्सिना, सुशील अधिकारी, विशाल तिमल्सिना, लक्ष्मण तिमल्सिना र राम तिमल्सिना रहेका छन् । – मछिन्द्रकुमार लामाबाट


