ढुंखर्कको प्रकृति नविगारियोस्, प्रकृत्तिनै ढुंखर्कको वास्तविक पूँजी हो

ढुंखर्कको प्रकृति नविगारियोस्, प्रकृत्तिनै ढुंखर्कको वास्तविक पूँजी हो तरुण खबर २५ जेष्ठ २०७८, मंगलवार ११:५५
ढुंखर्कको प्रकृति नविगारियोस्, प्रकृत्तिनै ढुंखर्कको वास्तविक पूँजी हो

डा. सुरेशराज शर्मा
नेपालमा उपत्यका थुप्रै छन्, डाँडाहरूको बीचमा हुने उपत्यका दुई किसिमका हुन्छन् । छेउमा ठूलो खोला बगेको छ भने त्यस्तो उपत्यका तलतल हुँदै जान्छ, त्यसलाई ‘भी’ भ्याली भन्छन् । अर्को चाहिँ ‘यू’ आकारको भ्याली हो । डाँडा अलि परपर हुन्छ ‘यू’ जस्तो आकारमा बसेको हुन्छ । ढुंखर्क चाहिँ ‘यू’ आकारको भ्याली हो । त्यो भ्यालीमा दुई तीन किलोमिटरको दूरीमा निकै माथिको अल्टिच्युटको बस्ती पनि छ । त्यही अनुसारको भेजिटेसन छ ।

तरकारी, औषधिजन्य वनस्पति र रुखहरू ढुंखर्कमा छन् । ढुंखर्कबाट करीब १२ किलोमिटर तल आयो भने पनौती र खोपासीको अल्टिच्युट आइपुग्छ जस्तो लाग्छ । नजिकै त्यति राम्रो भेजिटेसन भएको भ्यालीले आफ्नो बनोट र आर्किटेक्चर स्टाइल बचाइराखेको हुनाले त्यो ठाउँ सबै दृष्टिकोणले आकर्षक छ । त्यहाँबाट नारायणस्थान पनि नजिकै पर्छ । नारायणस्थानको अल्टिच्युट भनेको महाभारत लेकको सबभन्दा अग्लो ठाउँमध्ये एक हो । त्यो ३०१८ मिटर उचाइमा छ अर्थात् लगभग ९,८९९ हजार फीटको उचाइमा पर्छ । त्यो महाभारत जस्ताको त्यस्तै छ, जंगल त्यति धेरै बिग्रेको छैन । सिन्धुलीतिर पर्ने महाभारत क्षेत्रमा रहेको जंगल पनि त्यति बिग्रेको छैन । अरु ठाउँमा त जंगल धेरै बिग्रेको छ ।

नेपालको आफ्नैपनलाई विदेशीहरू हेर्न आएका हुन् । बेलायतसँग दाँज्नलाई यहाँ आएका होइनन् । न गाडी, न बाटो, न घर दाँज्न मिल्छ ? दाँज्न मिल्ने हामीसँग केही पनि छैन । सुन्दर प्रकृति हेर्न मात्र उनीहरू आएका हुन् ।

मैल पिएचडीे बेलायतबाट गरेको हुँ । बेलायतीहरू प्राकृतिकरुपमा सुन्दर ठाउँलाई जुन स्वरूपमा छ, त्यही स्वरूपमा छोड्दा रहेछन् । हामीले भने बुझी नबुझी जर्बजस्ती सहरीकरण गर्न खोजिरहेका छौं । सहरीकरण गर्दा पहिलेको रूप बिग्रिन्छ, सबै नयाँ रूप आउँछ । नयाँ रूप राम्रो हो कि, पहिलेको रूप राम्रो हो भन्ने कुरा यहाँका मान्छेलाई धेरै थाहा छैन । हामीलाई सहरीकरणको बढी चाहना भयो । बजार, अस्पताल, स्कुल सबैथोक भएको हुनाले मानिसको आकर्षण हुनु स्वाभाविक हो । ढुंखर्कले चाहिँ आफ्नो संस्कार, संस्कृतिर प्रकृत्ति बचाइराखे राम्रो हुन्थ्यो भन्ने लाग्छ ।

म बुढानीलकण्ठ स्कुल बोर्डको अध्यक्ष थिएँ, ६–७ वर्ष अध्यक्ष भएँ । त्यस अवधिमा एकपटक बेलायतका युवराज चाल्र्स भ्रमणमा आएका थिए । ब्रिटिसहरूले बनाइदिएको स्कुल भएको हुनाले युवराज भ्रमणका लागि आएका हुन् । भ्रमणका लागि आएका युवराज दुई घन्टाजति बसे त्यहाँ । अध्यक्ष भएकाले म उनी सँगसँगै थिएँ, मैले उनीसँग कुरा गरें । तपाईंलाई ज्यादै मन नपर्ने कुरा के छ, ज्यादै मन पर्ने कुरा के छ ? मलाई भन्न सक्नुहुन्छ भनेर सोधें । जवाफ दिन अप्ठ्यारो लाग्छ भने नदिए पनि हुन्छ, यो मेरो जिज्ञासा मात्र हो भने । तर उनले म भन्छु भने– ज्यादै मन नपर्ने मिडियाका मान्छे हुन् ।

जहाँ गए पनि मलाई बेलायतको प्रिन्स भनेका छन्, वरिपरि घेरेका छन्, क्यामेराका अगाडि बसिरहेको छु, राम्रोसँग बसेको छ भने केही पनि दिँदैनन्, अलि नराम्रो भएको छ भने त्यो चाहिँ भोलिपल्टको पत्रिकामा दिइहाल्छन् । मेरो फ्रिडम नै छैन, तपाईं जति फ्री हुनुहुन्छ, म त्यति फ्री छैन । अहिले नै हेर्नुस्, बीबीसीका ४०–५० जना बेलायतदेखि यहाँ आएर यो कहाँ कहाँ जान्छ, के के गर्छ भनेर नियालिरहेका हुन्छन् । क्यामेरा बोकेको सञ्चारकर्मी मेरो अगाडि उभिएको मलाई पटक्कै मन पर्दैन भने । मलाई मन नपर्ने त्यही हो । एउटा उदाहरण दिँदै उनले भने, ‘म एकपटक स्कटल्यान्ड गएको थिएँ, म त्यसबेला स्कुलमा पढ्थें, त्यस्तै १५–१६ वर्षको थिएँ । लन्चको समय भएको रहेछ, के पिउनु हुन्छ भनेर मलाई सोधियो, हामी त स्कुलका विद्यार्थी थियौं, हामीलाई किन सोधियो यो पिउने कुरा ? यहाँ पिउन हुँदो रहेछजस्तो मलाई लाग्यो ।

प्रकृतिले बनाएको बनोटलाई विनाश गरेर विकास गरिएको छ । त्यो चाहिँ मलाई पटक्कै मन पर्दैन । म अहिले नेपाल आएको पनि कुनै कुनै ठाउँ प्रकृतिले जस्तो बनाएको थियो, त्यही रूपमा देख्न पाइन्छ भनेर त्यो हेर्न आएको हुँ ।

उनीहरूले सोधे पछि मैले वाइन मागें । त्यसको भोलिपल्ट त पत्रिकामा ‘अन्डर ऐज प्रिन्स वाज फाउन्ड ड्रंक’ शीर्षकमा समाचार छापियो । अरुले पनि खाएका थिए, तर मेरो चाहिँ लेखिदियो । त्यो चाहिँ उनको मन नपरेको विषय थियो । मन परेको कुरा चाहिँ सबैलाई भन्न मन लाग्छ प्रिन्सले भने– सबैभन्दा ठूलो वैज्ञानिक पनि प्रकृति हो, सबैभन्दा ठूलो कलाकार पनि प्रकृति हो । प्रकृतिलाई मन नपराउने के होला र ? समुद्री किनारा मन नपराउने को होला र ? झर्ना र खोला किनारा मन नपराउने को होला ? भ्याली भएको ठाउँ कसलाई मन पर्दैन र ? प्रकृति बनोटमा त्यति धेरै सुधार आएको छैन, पहिला जस्तो बनेको थियो, त्यही रूपमा चलिरहेको छ । तर मान्छेले धेरै बिगारे । विकास भनेको सबै मानिसले बनाएको हो । प्रकृतिले बनाएको बनोटलाई विनाश गरेर विकास गरिएको छ ।

त्यो चाहिँ मलाई पटक्कै मन पर्दैन । म अहिले नेपाल आएको पनि कुनै कुनै ठाउँ प्रकृतिले जस्तो बनाएको थियो, त्यही रूपमा देख्न पाइन्छ भनेर त्यो हेर्न आएको हुँ । ढुंखर्क क्षेत्र प्राकृतिक बनोटसँग नजिक नै छ कि भन्ने मलाई लागेको हुनाले बढी मन परेको हो । वरिपरि डाँडा, मान्छेको बस्ती हेर्दा त्यो प्रकृतिजस्तो लाग्छ । हाम्रो विकास अलि अनौठो छ । कसैलाई एउटा प्राथमिक स्कुल बनायो, १० वर्षमा तिमी के हुन चाहन्छौं भनेर सोध्यो भने उसले माध्यमिक हुन चाहन्छु, त्यसपछि उच्च माध्यमिक विद्यालय हुन चाहन्छु भन्छ । त्यसपछि कलेज बन्न चाहन्छु भन्छ । प्राथमिक स्कुल नै सबैभन्दा राम्रो बनाउँछु भन्दैन । माथि मात्रै जान्छु भन्ने, सोच्ने शैली अलिकति राम्रो भएन कि ?
बुढानीलकण्ठमै हुँदा एकपटक बेलायतको सबभन्दा राम्रो स्कुल देखाउन मलाई लिएर गयो ।

जति स्कुल मैले अवलोकन गरें, ती स्कुल ५–६ सय वर्षअघि बनेका थिए । ६ सय वर्षअघिदेखि ती स्कुल चम्किरहेका रहेछन् । त्यो अहिलेसम्म स्कुलै छ । सेरवर्न भन्ने ठाउँको एउटा स्कुलमा पुगेको थिएँ, त्यो चाहिँ हाम्रो बनेपा भ्यालीजस्तै लाग्यो । मैले यो स्कुलको कति जग्गा छ भनेर सोधें, त्यो मलाई याद छैन तर तपाईंको आँखाले देखेजत्ति सबै हाम्रो स्कुलको हो भन्ने जवाफ दिए । ६ सय वर्षअघि बनेको यो स्कुलमा केही समस्या परेको छैन भनेर सोधे । त्यस्तो ठूलो समस्या परेको छैन, स–साना समस्या परे, अहिले पनि परेको छ । के प¥यो भनेर मैले सोधे, उनीहरूले भने, फुटबल एकदमै लोकप्रिय भयो, जसले पनि फुटबल खेल्न थाले । हामी क्रिकेट रुचाउँछौं भनिन्छ, तर फुटबल नै लोकप्रिय छ ।

फुटबलको हामीसँग आठवटा मैदान थियो, अब चारवटा थप्नुपर्नेछ । कति विद्यार्थी पढ्छन् भनेर सोधे, आठ सय विद्यार्थी छन् भन्ने जवाफ पाएँ । हामीसँग जुन सुविधा छ भन्छांै, त्यो सबैले उपभोग गर्न पाउनुपर्छ । बलियोबांगोले मात्र त्यो सुविधा उपभोग गर्न पाउनु हुँदैन । बलियोबांगोले सक्रिय नभएकालाई खेल्न दिँदैनन् । तर सबैलाई नपुगुञ्जेलसम्म हामीले सुविधा छ भन्दैनौं । कम्प्युटर पनि त्यस्तै हो, सबैले कम्प्युटर चलाउन पाए मात्र त्यसलाई सुविधा छ भन्छौं । एउटा कम्प्युटर राखेको हुन्छ, २० जनालाई यही प्रयोग गर हामी भन्दैनौं । हामीले सिक्नुपर्ने यो महत्वपूर्ण कुरा हो, हामीचाहिँ मसँग कम्प्युटर पनि छ भनेर अरुलाई देखाएर क्यास गर्न खोज्छौं । तर सुविधा जसलाई दिएको छ, त्यसलाई दिइएन भने म बेइमान भइहाले नि ।

त्यो अनुभवले मलाई अलिकति पाठ सिकायो । हक्की पनि त्यतिकै लोकप्रिय थियो, ६ वटा हक्की पिच थियो, आठवटा गरियो । यो गरेपछि अझै डिमान्ड बढ्यो । पहिले महिलाहरू फुटबल खेल्न चाहँदैन थिए, अहिले खेल्न थाले । छात्राका लागि फुटबल ग्राउन्ड बनाउन थालियो । त्यो ट्रेन छ, हामीले पनि बनाउनुपर्छ । ५–६ वटा ग्राउन्ड बनाउन हामीसँग अझ पनि जग्गा छ, त्यसले पुगेन भने चाहिँ हामी विद्यार्थी संख्या घटाउँछौं । हामी यस्ता कुरा सोच्दैनौं । हामी माथि जाने कुरा मात्र सोच्छौं, माथि कहाँ पुग्छौं ? जे बनाएको छ, त्यसलाई राम्रोसँग मेन्टेन्ट गर्नुपर्छ । रग्बी भन्ने स्कुलमा गएको थिएँ, त्यहाँ पनि सोधे, तिमीहरूले कहाँ पढेको भनेर मास्र्टरहरूलाई सोधेंं, धेरैले अक्सफोर्ड, क्याम्ब्रिजलगायतका नामूद विश्वविद्यालयमा पढेको बताए । कति पढेको भनेर सोधें, सबैले पीएचडी गरेको छु भन्छन् ।

अक्सफोर्ड, क्याम्ब्रिजमा पीएचडी गरेको मान्छे तिमीहरू स्कुलमा पढाउँदा शैक्षिक योग्यताको दुरुपयोग भएजस्तो लाग्दैन भनेर मैले सोधे, यहाँ रिसर्च त तिमी गर्न पाउँदैनौं ? स्कुलमा के अनुसन्धान हुन्छ ? उनीहरूले मलाई उल्टो सोधे मिस्टर शर्मा रिसर्च भनेको हो ? तपाईंले केलाई रिसर्च भन्न खोज्नुभएको ? नेपाल सुहाउँदो राम्रो शिक्षा दिनका लागि के गर्नुपर्छ भन्ने शीर्षक रिसर्चको विषय हो कि होइन ? अन्त चाहिँ त्यही सिस्टमले काम गरेको छ, नेपालमा चाहिँ काम गर्दैन भनेपछि आफ्ना लागि आफ्नै किसिमको सिस्टम बनाउनुपर्छ, त्यही त हो नि रिसर्च भनेको । हामीले रिसर्चमा ब्रिटिस स्कुलहरूमा दिएको टाइमअनुसार एडप्ट गर्नुप-यो, हामी अरुभन्दा अगाडि गयौं भने विद्यार्थी आउँछन्, हामी अरुभन्दा अगाडि जान सकेनौं भने विद्यार्थी अन्त जान्छन् । हामी रिसर्च नगरी आजको ३०–४० वर्ष अगाडि सेरवर्न भन्ने ठाउँको स्कुलको पढाइ र अहिलेको पढाइमा धेरै सुधार आएको छ । हामीहरू अपटुडेट छौं । अपटुडेट हुनलाई हामीले रिसर्च त गर्नैपर्छ । शिक्षामै हामी रिचर्स गछौं उनीहरुले भनेका थिए ।

ढुंखर्क क्षेत्र प्राकृतिक बनोटसँग नजिक नै छ कि भन्ने मलाई लागेको हुनाले बढी मन परेको हो । वरिपरि डाँडा, मान्छेको बस्ती हेर्दा ढुंखर्क प्रकृतिको अनुपम उपहार हो भन्नेमा द्वीविधा छैन ।

नेपालका विश्वविद्यालयमा पढाउन थाले, त्रिचन्द्रमा पढाएँ, त्यसपछि कीर्तिपुरमा पढाउन थालें । माथिल्लो तहमा पढाइयो विश्वविद्यालयमा पढाउन थालियो, प्रोफेसर भइयो, उपकुलपति भइयो । सबै कुरा हुन त भइयो, तर हाम्रो संस्था त्रिभुवन विश्वविद्यालय खुलेका बेला कीर्तिपुर जति राम्रो थियो, त्यो अहिले छैन । जुन स्तरको पढाइ हुन्थ्यो, त्यो स्तरको पढाइ छैन । आफ्नो सिस्टमलाई हामीले अपडेट गर्न सकेका छैनौं । समय अनुकूल बनाउन सकेनौं । भनेपछि हामी पछि प¥यौं । कीर्तिपुर पछि परिसक्यो । हामीमा खाली माथि मात्रै जाने, माथिको मात्र हेर्न बानी प¥यो । माथिबाट तल पनि हेर्न प-यो नि । तलबाट राम्रो बेस भएको मान्छे आइदिएन भने राम्रो हुँदैन ।
ढुंखर्कमा कृषि र वातावरणको अध्ययन एकदमै राम्रो हुन्छ भन्ने लाग्छ ।

कृषिका लागि १५ देखि दुई हजार मिटरसम्मको जमिन छ । १५ सय मिटरमा खोपासी आउँछ, त्योभन्दा बढी उचाइको जमिन नारायणस्थान भयो । त्यति नजिकै अनुकूल जमिन भएकाले मैले धुलिखेल छनोट गरेको त्यही कारण हो । धुलिखेलबाट नजिकै रहेको नगरकोट समुन्द्री सतहबाट १,८३८ मिटर उचाइमा, १६,१७ मिटर माथि म कहीले काँही जान्छु, अर्कोतिर पाँचखाल छ, जसको उचाइ ६८७ मिटर छ । यो दुई स्थान सजिलैसँग पुगिन्छ । त्यो अल्टिच्युटमा के हुन्छ, कृषिमा फूलहरू कुन हुन्छ, तरकारी कुन लगाउने, जडीबुटीहरू कुन लगाउने भनेर छनोट गर्न सकिन्छ । म लन्डनमै थिएँ, क्याम्ब्रिज भनेको पनि सानो ठाउँ रहेछ पहिले । केम भन्ने नदी रहेछ, त्यहाँ फलामको पुल बनाएको रहेछ । त्यसकारण क्याम्ब्रिज भनिएको रहेछ । अक्सफोर्ड भनेको चाहिँ हाम्रो गौशालाजस्तो ।

बेवारिसे गोरुहरू राख्ने ठाउँ । राजधानी लन्डनमा नबनाएर अक्सफोर्ड र क्याम्ब्रिज डेढ दुई सय किलोमिटर टाढा विश्वविद्यालय बनाइयो । भनेपछि शिक्षामा काम गर्ने मान्छेको गहिरो सोचाइ हुनुपर्छ । रिसर्च गर्न पनि त्यो सोचाइले प्रकृतिसँग सिक्नुपर्छ । सबैभन्दा ठूलो गुरु प्रकृति हो । चरा हेरौं, त्यो चरालाई के खान दिने होला, एउटा चरालाई दिने खानेकुरा र अर्को चरालाई दिने खानेकुरा फरक छ । किराले खानेकुरा अर्कै छ । यो सबै कुरा प्रकृतिले पु¥याइदिएको हो । अहिले जे जति डिस्कभरी भएका छन्, सबै प्रकृतिसँग सिकेका हुन् । प्रकृतिले कसरी गरेको रहेछ , त्यहीअनुसार गर्नुपर्छ । औषधि विज्ञानमा पनि त्यही हो । मैले औषधिसम्बन्धी क्यामेस्ट्री पढेको हो । विश्वविद्यालयको उपकुलपति भएपछि त्यो पढेको कहाँ पुग्यो ? मैले केमिस्ट्री पढेको भन्दा धेरैले पत्याउँदैनन्, शिक्षाशास्त्र पढेको होला भन्छन् ।

कुनै यस्तो चिज फलाइदियौं, जुन चिज संसारभर लोकप्रिय होस् । अहिले एभोकाडो धेरै आएको छ । एभोकाडो नेपालमा राम्रोसँग हुँदो रहेछ । काठमाडौं, बनेपा सबै ठाउँमा हुँदो रहेछ । यत्ति धेरै पौष्टिक फल हो त्यो फल्न पनि धेरै फल्दो रहेछ । एभोकाडोमा मात्रै हामीले विज्ञता हासिल गरे पनि हुन्छ । सुन्तला, जुनार हुन्छ । सुन्तला त्यति धेरै खाँदैनन्, जुनार चाहिँ उनीहरूको अरेन्ज हो । हाम्रो जुनारमा बाक्लो बोक्रा हुन्छ, उनीहरूको ओरेन्जमा पातलो बोक्रा र बढी रस हुन्छ । त्यो बाक्लो बोक्रालाई पातलो बनाउने भन्ने कुरा नै रिसर्च हो । हामीले खाँदा दाना हुन्छ, उतातिरको ओरेन्जमा दाना हुँदैन । त्यसलाई बियाँरहित कसरी बनाउने, यसलाई कसरी सुधार गर्ने भन्ने चाहिँ रिसर्च हो ।
हामी बाहिरको देखासिकी खुब गर्न खोज्ने, राम्रो कामको देखासिकी चाहिँ नगर्ने भइरहेका छौं ।

सिन्धुलीगढी त्यही महाभारतको रेन्जमा पर्छ । चपोली भन्ने ठाउँमा हाम्रो घर थियो । त्यो पनि महाभारतकै काखमा हो । त्यही महाभारतकै जंगलको पानी खाएर हामी हुर्केका हौं । नारायणस्थान त्यहाँबाट धेरै टाढा छैन होला भन्ने लाग्थ्यो । नेपालको आफ्नैपनलाई विदेशीहरू हेर्न आएका हुन् । बेलायतसँग दाँज्नलाई यहाँ आएका होइनन् । न गाडी, न बाटो, न घर दाँज्न मिल्छ ? दाँज्न मिल्ने हामीसँग केही पनि छैन । सुन्दर प्रकृति हेर्न मात्र उनीहरू आएका हुन् । अग्लो र सुन्दर पहाड हेर्न उनीहरू आउँछन्, तर हामी त्यसलाई ध्वस्त बनाउँदैछौं ।
(काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा. सुरेजराज शर्मासँग परशु घिमिरेले करीब दुई वर्षअघि धुलिखेलस्थित उहाँकै निवासमा गर्नु भएको कुराकानीमा आधारित )