तरुण खबर
२६ जेष्ठ २०७८, बुधबार ११:५२
जानकारी दिए मात्र पुग्ने
काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई राख्न नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली–२०७८ जारी गरेको छ । यो निकै ठूलो सुधार हो । नभए स–सानो लगानी भित्र्याउन पनि राष्ट्र बैंकमा स्वीकृति लिनु पथ्र्याे गभर्नर महाप्रसाद अधिकारीले भनेका छन् ।
उनी लगानी बोर्डमा प्रमुख कार्यकारीका रूपमा हासिल गरेको अनुभव यो विनियमावलीमा प्रयोग भएको बताइन्छ । यसअघि अवधारणा र सम्भावित व्यवस्थासहितको मस्यौदा तयार पारेर राष्ट्र बैंकले सरोकारवालासँग सुझाव लिएको थियो । त्यसमा केही संसोधन गरेर मंगलबार एक कार्यक्रम आयोजना गरी राष्ट्र बैंकले सार्वजनिक गरेको हो । लगानीको लेखांकनमा पनि सुधार गरिएको बताइएको छ । लगानी भित्रिएपछि भने राष्ट्र बैंकमा लेखांकन गर्नु पर्छ ।
यसअघि लेखांकन नभए अब सूचना जारी गरेर एक वर्षको समय दिइने छ । कागजपत्र पूरा भएको सात दिनभित्र लेखांकन गरिसक्ने राष्ट्र बैंकले जानकारी गराएको छ । यससँगै विदेशी ऋणको स्वीकृति र लेखांकन सम्बन्धित व्यवस्थालाई पनि सरल बनाइएको बुझिएको छ । विदेशी ऋण लिन भने राष्ट्र बैंकको स्वीकृति लिनु पर्छ । १५ दिनभित्र स्वीकृति उपलब्ध गराइने बैंकले जानकारी गराएको छ । ऋण लेखांकन ६ महिनाभित्र गर्नुपर्छ ।
भुक्तानी तालिका तोकेर ऋण आएको छ भने बैंक तथा वित्तीय संस्थाबाटै भुक्तानी हुनेछ । राष्ट्र बैंक जानु पर्दैन । यो पनि एक किसिमको सुधार हो एक राष्ट्र बैंकका अधिकृतले भने । राष्ट्र बैंकलाई रकम भित्रिएको र फिर्ता बाहिरिएको विवरण बैक तथा वित्तीय संस्थाले उपलब्ध गराउनु पर्नेछ ।


