गण्डकीका मुख्यमन्त्री गुरुङको भोलि परीक्षण

गण्डकीका मुख्यमन्त्री गुरुङको भोलि परीक्षण तरुण खबर २६ जेष्ठ २०७८, बुधबार ११:५६
गण्डकीका मुख्यमन्त्री गुरुङको भोलि परीक्षण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भोली जेठ २७ गते विश्वासको मत लिने भएका छन् । ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका गुरुङले विश्वासको पाउने कमै सम्भावना रहेको बताएका छन् दलहरुले । केन्द्रमा राजनीतिक उथलपुथल भएपनि अन्य प्रदेश सरकारको तुलनामा सुरक्षित ठानिँदै आएको गण्डकी प्रदेश सरकारको भविष्य केही समयदेखि विकसित राजनीतिक घटनाक्रमले असुरक्षित हुदै आएको छ । यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कुल २८ जना प्रदेशसभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङमाथि अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

साथै, मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई अगाडी सारिएको थियो । ६० सदस्यीय सदनमा एमाले झिनो बहुमतमा मात्र सीमित हुन पुगेको थियो । त्यो पनि जनमोर्चाको साथले । जनमोर्चाले विश्वासको मत फिर्ता लिए पनि एक प्रदेश सांसदको समर्थनका कारण गण्डकीमा एमालेकै सरकार टिकीरहेको थियो । एमालेसँग मनाङबाट निर्वाचित एक स्वतन्त्र सांसद्सहित २८ जना छन् । प्रदेशसभामा दोस्रो ठूलो दलको हैसियतमा उक्लिएको नेपाली कांग्रेसका १५ माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई सदस्य छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भने विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा हिजो मंगलबार ३० मत परेको थियो । नेकपा एमालेको माधव नेपाल समूहले विश्वासको मत दिएपछि भट्ट नेतृत्वको सरकार जोगिएको हो । माधव समूहका १७ र माओवादी केन्द्रका १३ जना सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका छन् । भट्टले विश्वासको मत पाए लगत्तै माधवकुमार नेपाल समूहका नेता भीमहादुर रावलले विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ? भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रत्यक्ष ढंगबाट सोधेका छन् ।

एमाले ओली समूहका ७ र जसपाका २ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । ओली समूहका पठानसिंह बोहरा, लीलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया बोहरा, नेपालु चौधरी, बलदेव रेग्मीले विपक्षमा मतदान गरेका थिए । यस्तै जसपाका कृष्ण चौधरी र मालामती रानाले पनि विपक्षमा मतदान गरेका थिए । नेपाली कांग्रेस मतदानमा भने सहभागी भएन । कांग्रेसका १२ जना सांसद तठस्थ बसेका थिए ।