तरुण खबर
२८ जेष्ठ २०७८, शुक्रबार ११:३१
काठमाडौं । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यूकेले गरिब देशहरूलाई आगामी केही साताबाट खोपहरू उपलब्ध गराउन थाल्ने बताएका छन् । धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उनले आफूलाई चाहिनेभन्दा बढी रहेको दश करोड खोप अर्को वर्षसम्म वितरण गरिने बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले ९२ वटा न्यून तथा मध्यम आय भएका देशहरू र अफ्रिकी संघलाई आधा अर्ब फाइजर खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेका थिए ।
बेलायतले ५० लाख खोप सेप्टेम्बर महिनाको अन्त्यसम्ममा उपलब्ध गराइने भन्दै यसै वर्षको अन्त्यसम्ममा अर्को २ करोड ५० लाख खोप वितरण गरिने जनाएको छ बीबीसीको अनलाइन ज्यूजमा लेखिएको छ । प्रधानमन्त्री जोनसनले यूकेको खोप कार्यक्रमको सफलताका कारण हामी आफूसँग अतिरिक्त सङ्ख्यामा रहेका खोपहरू आवश्यकता रहेकाहरूलाई दिनसक्ने अवस्थामा छौँ । त्यसो गर्दा हामीले महामारीलाई पराजित गर्न एउटा ठूलो कदम चालेका हुनेछौँ ।
उनले शुक्रवार कोर्नवालमा सुरु हुने जी सेभेनको शिखर बैठकमा आफ्ना सहकर्मी नेताहरूले पनि यस्तै प्रतिबद्धता जनाउने अपेक्षा गरेको उल्लेख गर्दै अर्को वर्षको अन्त्यसम्म विश्वलाई नै खोप लगाइसक्नुपर्ने बताएका थिए । उक्त समूहका नेताहरूले सामूहिक रूपमा महामारीसँग जुझ्न एक अर्ब खोपको मात्रा घोषणा गर्नसक्ने ठानिएको छ । क्यानडा, जापान, फ्रान्स, जर्मनी र इटलीसहित अमेरिका र यूकेले उक्त लक्ष्य भेट्टाउन खोपको उत्पादनलाई विस्तार गर्ने योजना तय भएको छ । कोर्नवालमा बोल्दै अमेरिकी राष्ट्रपति बाइडनले भने– संयुक्त राज्य अमेरिकाले कुनै पनि सर्त बिना खोपहरू उपलब्ध गराउनेछ ।
हाम्रो खोप अनुदानमा हामीलाई कुनै किसिमको सहयोग गर्न दबाब वा सम्भावित छूट जोडिएको छैन । मानव जीवन रक्षा गर्न हामीले यस्तो गरिरहेका छौँ र यूकेका नेताबीचको छलफलपछि यो घोषणा आएको हो । यो बेलायत सरकारले विश्वव्यापी खोप अभियानमा उपलब्ध गराएको पहिलो सहायता भने होइन । यसअघि नै उसले विश्वका गरिब देशहरूलाई खोप गराउने कोभ्याक्स कार्यक्रमलाई ५० करोड पाउन्ड उपलब्ध गराएको थियो । उसले अक्सफर्ड आस्ट्राजेनेका खोपको विकासमा पनि मद्दत गरेको छ ।
जोनसनले जी सेभेन नेताहरूलाई अरू फर्मास्यूटिकल कम्पनीहरूलाई महामारी निरन्तर भएकाले खोप खरिद मूल्यमा नै विक्री गर्न प्रोत्साहित गर्न सुझाव दिएका छन् । यूकेले अनुदान दिने खोपको पाँच भागमध्ये एक भाग आवश्यकतामा रहेका देशहरूसँगको सम्झौताका आधारमा सोझै र अन्य कोभ्याक्स प्रणालीमार्फत वितरण गरिने भनिएको छ ।


