तरुण खबर
२८ जेष्ठ २०७८, शुक्रबार ११:३४
काठमाडौं । चालु आर्थिक वर्षको १० महिना बैंक तथा वित्त कम्पनीहरुको नाफा ७ दशमलब १२ प्रतिशतले वृद्धि भएको छ । गत आवको असार मसान्तसम्म बैंक तथा वित्त कम्पनीको नाफा ५८ अर्ब ९२ करोड रुपैयाँ थियो । जसमा ४ अर्ब २० करोड रुपैयाँ थप भइ चालु आवको बैशाख मसान्तसम्म ६३ अर्ब १२ करोड रुपैयाँ पु-याएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैशाख मसान्तसम्म बैंकहरुको नाफा पौने ५६ अर्ब, नाफा बढाउनेमा प्रभु बैंक पहिलो, कुमारी दोस्रो र एनबी तेस्रोचालु आवको बैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको नाफा २ दशमलब ६५ प्रतिशत, विकास बैंकहरुको ४२ दशमलब ३५ प्रतिशत र वित्त कम्पनीहरुको नाफा १४८.९६ प्रतिशतले वृद्धि भएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत आवको असार मसान्तसम्म ५४ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएका थिए । जुन चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १ अर्ब ४४ करोड रुपैयाँले थप भइ ५५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।
यसैगरी, गत आवको असार मसान्तसम्म विकास बैंकहरुले ३ अर्ब ८० करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । जसमा १ अर्ब ६१ करोड १० लाख रुपैयाँ थप गरी चालु आवको बैशाख मसान्तसम्म ५ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पु¥याएका छन् । सञ्चालनमा रहेको २० वटा वित्त कम्पनीहरुले गत आवको असार मसान्तसम्म ७७ करोड रुपैयाँ नाफा कमाएका थिए । जुन चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १ अर्ब १४ करोड ७० लाख रुपैयाँले थप भएर १ अर्ब ९१ करोड ७० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।


