तरुण खबर
२९ जेष्ठ २०७८, शनिबार ११:३७
पोखरा । गण्डकीका नयाँ मुख्यमन्त्री कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल बन्ने निश्चित भएको छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद एवं संसदीय दलको नेता कृष्णचन्द्र पोखरेल नेपालीले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका छन् । नयाँ सरकारको नेतृत्व गर्न माओवादी पनि इच्छुक थियोे । स्रोतका अनुसार माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमान काठमाण्डौं पुगेर पुष्पकमल दाहाल प्रचण्डसँग आफूलाई मुख्यमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गरिदिन अनुरोध गरेका थिए ।
तर, देउवाले उनको प्रस्ताव अस्विकार गरेको बुझिएको छ । त्यसपछि माओवादी केन्द्रको केन्द्रीय नेताले नै यहाँको माओवादी संसदीय दललाई कन्भिन्स गर्दै मुख्यमन्त्रीमा कांग्रेसलाई सहयोग गर्न गत बुधबार दिउँसो निर्देशन दिएको हो । पोखरेल नवलपरासी “क” बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । जनमोर्चाले मन्त्रिपरिषदमा सहभागी नहुने बताएपछि मन्त्रालयको भागबण्डामा कांग्रेस सहित माओवादी र जनता समाजवादी पार्टी छन् ।


